तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय सेनाध्यक्ष काठमाडौँमा

काठमाडौँ ।  प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिवसीय भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले हार्दिक स्वागत अभिवादन गर्नुभयो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाध्यक्ष पाण्डेलाई नेपाल भ्रमणकै क्रममा सोमबार दिउँसो नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुहुनेछ । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । 

नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम प्रचलन रहिआएको छ । विसं २००७ मा भारतीय सेनाका फिल्ड मार्सल केएम करिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो ।

 विसं २०२६ मा तत्कालीन  नेपाली सेनाका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलोपटक भारतीय सेनाको मानार्थ सेना प्रमुखको पदवी पाउनुभएको थियो  । अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी ग्रहण गरिसक्नुभएको छ । हालसम्म भारतका २१ र नेपाली सेनाका १७ सेनापतिले यस्तो सम्मान प्राप्त गरिसक्नुभएको छ ।

प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेले मङ्गलबार भेट गर्नुहुने कार्यक्रम छ । 

नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष पाण्डे सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जली अर्पण, सम्मान गारत निरीक्षण, वृक्ष रोपण, प्रधानसेनापति शर्मासँग भेटवार्ता, सहयोग सामग्री हस्तान्तरण, कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तर्क्रियालगायतका कार्यक्रममा सहभागी हुनुहुनेछ । 

सेनाध्यक्ष पाण्डेको भ्रमणका क्रममा नेपाली सेनालाई करिब रु २२ करोड ३८ लाख ३८ हजार मूल्य बराबरको तोप मर्मत सम्भारका पार्टपूर्जा, घोडा, विस्फोटक पदार्थ प्रतिरोध सवारीसाधन र घुम्ती अस्पतालका लागि आवश्यक उपकरण सहयोग स्वरूप उपलब्ध हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button