तपाईँ सुन्दै हुनुहुन्छः

बारामा उद्योग लुट्न आएका डाँका र प्रहरीबीच गोली हानाहान, एक जना घाइते

बारा । बारामा उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच  आइतबार राती गोली हानाहान भएको छ । 

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रा.लि.मा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीको भिडन्त भएको प्रहरी उवपरिक्षक होमिन्द्र बोगटीले जानकारी दिनुभयो । 

डाँका समूहले एक राउन्ड फायर गर्दा जवाफमा प्रहरीले ३ राउन्ड हवाई फायर गरेको प्रहरी उपरिक्षक बोगटीले भन्नुभयो ।

प्रहरी टोलीले उद्योगबाट दुई जना डाँकालाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

दुई जना डाँकालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको छ उपरिक्षक बोगटीले बताउनुभयो । 

घटनास्थलबाट प्रहरीले घरेलु बन्दुक तथा थान कटुवा पेस्तोल एक/एक थान र तीन राउन्ड गोली बरामद गरेको छ । पक्राउ परेका दुई जना डाँकालाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।  १२/१५ जनाको सङ्ख्यामा डाँका समूह लुटपाट गर्न उद्योग पसेका थिए । डाँका समूह उद्योगमा प्रवेश गरेको सूचना आएपछि प्रहरी टोली खटिएको थियो ।  इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) कलमबहादुर शाहीको कमान्डमा टोली खटिएको थियो । लुटपाट गर्ने उद्देश्यले हातहतियार सहित उनीहरू उद्योग छिरेका थिए ।

प्रहरी टोली उद्योग पुगेपछि प्रहरी र डाँकाबिच दोहोरो भिडन्त भएको हो । डाँका समूहका एक जनाले फलामको रडले वरिष्ठ सई शाहीको टाउकोमा प्रहार गरेर उनी घाइते भएको प्रहरीले जनाएको छ । शाहीको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button