लेखनाथ उद्योग वाणिज्य सङ्घको २६ औँ वार्षिकोत्सव सम्पन्न
पोखरा । लेखनाथ उद्योग वाणिज्य सङ्घको २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सङ्घको सभाहलमा शनिवार सम्पन्न भएको सभालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय अध्यक्ष शेखर गोल्छाले लेखनाथ उद्योग वाणिज्य सङ्घले लेखनाथ क्षेत्रका उद्योगी व्यवसायीहरूको दुःख पीडामा साथ दिँदै उत्कृष्ट बन्न सफल भएको बताउनुभयो ।
लेखनाथ उद्योग वाणिज्य सङ्घले उद्योगी व्यवसायीहरूको हित एवं सामाजिक क्षेत्रमा गरेको कामको उच्च मूल्याङ्कन गदै नेपाल उद्योग वाणिज्य महासङ्घले उत्कृष्ट उद्योग वाणिज्य संघ घोषित गरेको स्मरण गराउनुभएको थियो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अञ्जन श्रेष्ठले देशमा राजनीतिक परिवर्तन भए पनि निजी क्षेत्रमा परिवर्तन नभएको बताउनुभयो । चालु पुँजीमा राष्ट्र बैंकले लिएको नीतिले निजी क्षेत्रलाई खुम्च्याउने हो कि भन्ने आभास भएको बताउँदै उद्योग व्यवसायीहरूको हक हितका लागि सबै व्यवसायी एकजुट हुने बेला आएको बताउनुभयो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले लेखनाथ उद्योग वाणिज्य सङ्घले २५ वर्षको रजत वर्षमा गरेका कार्यहरूको बारेमा जानकारी गराउनुभएको थियो ।
संघका महासचिव उपेन्द्र (राजु) सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा रजत स्तम्भ अनावरण गरिनुका साथै सङ्घको स्थापना कालदेखि हाल सम्मका विभिन्न गतिविधिहरू समेटिएको स्मारिका विमोचन समेत गरिएको थियो ।
उक्त अवसरमा संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्मचार्यद्धारा स्थापित चन्द्र लक्ष्मी ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कुसुम केशव पराजुलीलाई प्रदान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्