वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कारबाट डा.लम्साल सम्मानित

लालबन्दी । कवि तथा गीतकार डा. नवराज लम्सालको ‘अग्नि’ महाकाव्यले ५० हजार राशिको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार –२०७९’ प्राप्त गरेको छ ।
शनिबार लालबन्दी नगर वाङ्मय परिषद्द्वारा पुरस्कार समर्पण तथा पुस्तक विमोचन कार्यक्रम गरी डा. लम्साललाई दोसल्ला ओढाएर नगदसहित सम्मान गरिएको लालबन्दी नगर वाङ्मय परिषद्का सचिव सुमन घिमिरे ‘अग्रिम’ले जानकारी दिनुभयो ।
स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरूमध्येबाट डा. लम्सालकृत ‘अग्नि’ महाकाव्यलाई पुरस्कारका लागि छनोट गरिएको थियो ।

पुरस्कारका लागि अग्निलाई योग्य ठानेर पुरस्कृत गरेको भन्दै लम्सालले परिषद्लाई धन्यवाद दिनुभयो । त्यस्तै उहाँले आफूले सन्तुष्टिका लागि लेखेको भए पनि आफ्ना अनुभव र भोगाइले पुरस्कार पाउँदा खुसी लागेको बताउनुभयो ।
त्यसैगरी परिषद्ले स्थानीय प्रतिभा पुरस्कारबाट सञ्चारकर्मी तथा सर्जक क्षितिज विश्वकर्मालाई सम्मानित गरेको छ । पत्रकारिताबाट साहित्यमा दिएको योगदानको कदर गर्दै उहाँलाई नगद रु. १० हजारसहित सम्मान पत्रबाट लालबन्दी नगर वाङ्मय परिषद्ले सम्मान गरेको हो ।
लालबन्दी नगरपालिकाका नगर प्रमुख तथा उक्त वाङ्मय परिषद्का प्रमुख संरक्षक वासुदेव अधिकारीको प्रमुख संरक्षकत्वमा र लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारीको अध्यक्षता तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’को प्रमुख आतिथ्यमा लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा सम्मान समारोह भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा प्रा.डा. हेमनाथ पौडेल, प्राज्ञ सभा सदस्य शशी लुमुम्बू, प्रदेश सभा सदस्य बेची लुङ्गेली, वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी, भाषा आयोगका सदस्य गोपाल अश्कलगायतका विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । सो अवसरमा परिषद्ले प्रकाशन गरेको ‘साहित्यकार परिचय कोश तथा स्वतन्त्र रचना’ नामक पुस्तक विमोचन गरिएको थियो ।

यसैगरी लालबन्दी नगर वाङ्मय परिषद्ले अन्य विभिन्न व्यक्तिहरूलाई पनि सम्मान गरेको छ । सम्मानित हुनेहरूमा गजल सारथी सम्मानबाट गजलकार घनेन्द्र ओझा, सर्लाही गौरवबाट वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी सम्मानित हुनुभएको छ । यसैगरी सम्मानित हुने स्रष्टाहरूमा सुरेश सुवेदी, कृष्ण दाहाल, विप्रहरि दाहाल, कुमार कुसुम, कवि सुवेदी कन्जुस, पशुपति दाहाल, प्रजु लामिछानेहरू रहेको परिषद्का कोषाध्यक्ष तथा गजलकार विवश पौडेलले जानकारी दिनुभयो ।

नगर प्रमुख तथा परिषद्का प्रमुख संरक्षक अधिकारीले प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी साहित्य पुरस्कारका लागि रु ५ लाख वार्षिक बजेट विनियोजन गर्ने र परिषद्को नाममा भवन निर्माणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता कार्यक्रममा व्यक्त गर्नुभयो । लालबन्दी नगरपालिकाका प्रमुखले कला ,साहित्य, संस्कृति र परम्परा यस समाजको अमूल्य निधि हुने र यिनीहरूको आयु मानिसको भन्दा कैयौँ गुणा बढी हुने हुनाले यी विषयहरू राज्यका प्रमुख विषयहरू भएको उहाँले जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्