तपाईँ सुन्दै हुनुहुन्छः

केन्याविरुद्धको पहिलो एक दिवसीय खेलमा नेपालको जित

काठमाडौँ । नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एक दिवसीय खेलमा जित निकालेको छ ।

नैरोवी स्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले केन्यालाई ७ विकेटले हराएको हो । केन्याले दिएको २ सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

file photo

नेपालको जितमा आसिफ शेखले १ सय १० रनको शतकीय इनिङ खेले । उनले १ सय २० बलमा १२ चौका र २ छक्का प्रहार गरे । यस्तै अर्जुन साउदले ६१ रनको अर्ध शतकीय इनिङ खेले । ज्ञानेन्द्र मल्ल २४ रनमा आउट भए ।

दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन जोड्दा रोहित पौडेलले अविजित ३ रन बनाए । केन्याका भिसिल पटेल, रकिप पटेल र कोलिन्स ओबुयाले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले ४८ ओभर १ बलमा अलआउट भएर २ सय १८ रन बनाएको थियो । केन्याका लागि रकिप पटेल र कोलिन्स ओबुया अर्ध शतकीय इनिङ खेले ।

पटेलले ६७ तथा ओबुयाले ६२ रन बनाए । ईफ्रान करिमले ३१ तथा सचिन बुदियाले २७ रन बनाए । नेपालका लागि सोमपाल कामी र करण केसीले समान ३/३ विकेट लिए । आदिल आलम र पवन सर्राफले समान १/१ विकेट लिए ।

केन्याविरुद्ध उत्कृष्ट सुरुआत गरेको नेपालले ४९ रनमा ४ विकेट लिएको थियो । तर, पाँचौँ विकेटका लागि रकिप पटेल र कोलिन्स ओबुयाले १ सय ३० रनको साझेदारी गर्दै केन्याको इनिङ उकासेका थिए । यस जितसँगै नेपालले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

अब नेपालले केन्यासँग भोलि शनिबार दोस्रो खेल खेल्नेछ । त्यस्तै सोमबार तेस्रो तथा अन्तिम खेल खेल्नेछ । नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button