कैलालीमा करिब ४ सय घर डुबानमा
टीकापुर, कैलाली । गएराति परेको वर्षाका कारण कैलालीको दक्षिणी क्षेत्रका केही भूभागमा डुबान भएको छ । वर्षाका कारण कन्द्रा, काडा, पथरैया, मोहना लगायतका नदिमा आएको बाढीका कारण त्यहाँ डुबान भएको हो । ती नदिमा आएको बाढीका कारण जोशीपुर, भजनी, कैलारी, धनगढी लगाएका स्थानीय तहका केही स्थानमा डुबान भएको हो ।
बाढीले जिल्लाभर करिब ३८० भन्दा बढी घरमा डुबानमा परेका छन् । सबैभन्दा बढी भजनी नगरपालिकामा करिब ३२७ जति घर डुबानमा परेको भजनी नगरपालिकाका विपद् स्रोत व्यक्ति खिम पनाडीले जानकारी दिनु भएको छ । त्यो क्षेत्रमा काँढा, पथरैया, मोहना नदीको बाढी घरमा पसेर डुबान भएको उहाँले बताउनु भयो ।
उहाँका अनुसार वडा नम्बर ८ मा मात्रै करिब २०० जति घर डुबानमा परेका छन् । त्यस्तै, वडा नम्बर २ र ५ मा पनि केही घर डुबानमा परेका छन् । घरमा पानी पसेपछि खाद्यान्न लगायत लत्ताकपडा भिजेका छन् ।
यस्तै कैलारी गाउँपालिका वडा नम्बर ७ को बड्का बसन्ता, छटकपुर बसन्ता र भुईयाँफाँटा गरी ५० भन्दा बढी घर डुबानमा परेका वडाध्यक्ष दीपेन्द्र बमले जानकारी दिनुभयो । गएराति वर्षा भएपनि बिहानीपख मात्र त्यो क्षेत्रमा बाढी आएको त्यहाँका स्थानीयले बताएका छन् ।
रातभरि वर्षा भएपनि बिहानपखमात्र आफ्नो गाउँमा काँढा नदिको बाढी पसेको र त्यसले करिब ५० प्रतिशत धानवाली डुबानमा पारेको जोशीपुर गाउँपालिका वडा नम्बर ३ भितरीयाका भल्मन्सा भागिराम चौधरीले जानकारी दिनुभयो । वर्षा नरोकिएपछि अझै डुबान हुने खतरा बढेको समेत उहाँले जानकारी दिनुभयो ।
तराई र चुरे आसपासमा मात्र पानी परेका कारण ती नदिमा पानीको बहाव बढेको र कर्णाली नदिमा भने पानीको सतह सामान्य रहेको जल मापन केन्द्र चिसापानीकी गेजरिर्डर पार्वती गुरुङले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्