तपाईँ सुन्दै हुनुहुन्छः

दोलखाका छ जना पत्रकारलाई सम्मान

दोलखा । नेपाल पत्रकार महासङ्घ दोलखाका संस्थापक सभापति देवदास श्रेष्ठको १६ औँ स्मृति दिवसको अवसरमा स्व. देवदास स्मृति पत्रकारिता पुरस्कारसहित अन्य विभिन्न शीर्षकको पुरस्कारबाट छ जना पत्रकारहरू पुरस्कृत हुनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ दोलखा शाखाले आयोजना गरेको कार्यक्रममा स्व.देवदास स्मृति पत्रकारिता पुरस्कारबाट महासङ्घका पूर्व अध्यक्ष जीवन लामा सम्मान गरिएको छ । 

कोरोना सङ्क्रमणका कारण गत बर्ष निधन भएका दोलखाका पत्रकार रविन्द्र गौतमको स्मृतिमा स्थापना गरिएको स्व. रविन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कारबाट दोलखाका अग्रज पत्रकार शम्भु गौतमलाई सम्मान गरिएको छ ।

त्यसैगरी स्व.पशुपति चौलागाईले प्रदेश सांसद भएको बेला स्थापना गर्नु भएको गणतान्त्रिक पत्रकारिता पुरस्कारबाट हाम्रो रेडियोका स्टेशन मेनेजर बलराम खड्का सम्मानित हुनु भएको छ भने स्व. माधवमणि राजभण्डारीले आफ्नो पिताको नाममा स्थापना गर्नुभएको स्व. इन्द्रमणि राजभण्डारी स्मृति पत्रकारिता पुरस्कारबाट महासङ्घका कोषाध्यक्ष नवीनकुमार खतिवडा सम्मानित हुनुभएको छ । 

त्यसैगरी तत्कालीन जिल्ला विकास समिति दोलखाले स्थापना गरेको विकास पत्रकारिता पुरस्कारबाट सक्रिय पत्रकार लालकुमार मोक्तान सम्मानित हुनुभएको छ । 

त्यसैगरी पूर्व महाअधिवक्ता मुक्ति प्रधानको पहलमा मेहरमान फाउन्डेसनले स्थापना गरेको हेमकृष्ण कुमारी प्रधान स्मृति महिला राष्ट्रिय पुरस्कार– २०७८ बाट सक्रिय पत्रकार विनिता सुवेदी सम्मानित हुनुभएको छ । 

नेपाल पत्रकार महासङ्घ दोलखा शाखाका अध्यक्ष दीपशंकर चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, पूर्व महान्यायधिवक्ता मुक्ति प्रधान, प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य रमेश खतिवडा, प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष लक्ष्मण खड्का, प्रेस युनियन दोलखाका कार्यवाहक अध्यक्ष गोकण भण्डारी, प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेल र नेपाल पत्रकार महासङ्घ दोलखाका सचिव दिलबहादुर केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button