लगानी अनुसारको प्रतिफल नआएपछि बन्द हुँदै सल्यानका उद्योग
सल्यान । व्यवसाय प्रवर्द्धन हुन नसकेपछि सल्यानका उद्योग व्यवसाय धमाधम बन्द हुन थालेका छन् । दर्ता भई सञ्चालन रहेका उद्योग व्यवसाय बन्द गर्नेको सङ्ख्या बढेको सरकारी तथ्याङ्कले देखाएको छ ।

उद्योग व्यवसाय चल्न नसकेपछि, व्यवसायीहरूले दर्ता गरेका उद्योगको लगत कट्टा गर्न थालेका छन् । एक करोड लगानीमा सल्यानको शारदा नगरपालिका १ श्रीनगरमा २०७० सालमा सञ्चालनमा आएको साबुन उद्योग विगत दुई वर्षदेखि बन्द छ । विश्वभर फैलिएको कोरोना महामारीका कारण बन्द भएको उद्योग अझै सञ्चालनमा आउन सकेको छैन । उद्योग सञ्चालन गर्दा लिएको ऋण तिर्न नसक्ने भएपछि विदेश जाने योजनामा रहेको साबुन उद्योग सञ्चालक प्रकाश बुढाथोकीले बताउनुभयो ।
उद्योग सञ्चालनका लागि लगेको ऋण अब उद्योग सञ्चालन गरेर पनि तिर्न सक्ने अवस्था नभएपछि विदेश पलायन हुने सोचमा रहेको बुढाथोकीको भनाई छ ।
यस्तै २०७४ मा नुवाकोटका सुमन तामाङले पनि करिब २० लाख लगानीमा श्रीनगरमा सञ्चालन गरेको कपास उद्योग बन्द जस्तै छ । लगानी गरे अनुसारको प्रतिफल नभएपछि सबै छोडेर विदेश जाने सोचमा रहेको तामाङको भनाई छ ।
स्थानीय सरकारले स्थानीय उद्योगले उत्पादन गरेको वस्तुको बजारीकरणमा ध्यान दिनुपर्ने सल्यान उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष कुमार बुढाथोकीले बताउनुभयो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानमा हालसम्म जिल्ला ३ हजार २ सय उद्योग दर्ता भएका छन् । तर विगत पाँच वर्षको अवधिमा २ सय ६७ उद्योग बन्द भएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख नृपजंग शाहीले बताउनुभयो ।
उद्योगहरू धमाधम बन्द हुँदा तालिम प्राप्त जनशक्ति बेरोजगार बन्न थालेको कार्यालयको भनाई छ । कार्यालय गत वर्ष ५ सय ७७ जनालाई सिपमूलक तालिम प्रदान गरेको मध्ये मुस्किलले ४० प्रतिशत मात्र रोजगार भएको शाहीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्