तपाईँ सुन्दै हुनुहुन्छः

चाडबाड केन्द्रित सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षकको कार्यभार समेत सम्हाल्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) सहकुल बहादुर थापाले मातहतका प्रहरी अधिकारीहरूलाई अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्राथमिकतामा राखेर चाडबाड केन्द्रित सुरक्षा योजना बनाई लागू गर्न निर्देशन दिनुभएको छ ।

प्रहरी प्रधान कार्यालयबाट आज प्रदेश प्रहरी प्रमुख, ब्युरो प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख र प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूलाई भर्चुअल रूपमा उहाँले उक्त निर्देशन दिनुभएको हो । उहाँले प्रविधिजन्य तथा आर्थिक अपराधको अनुसन्धानमा अझ बढी संवेदनशील हुनुपर्नेमा जोड दिँदै चाडबाडको बेलामा हुनसक्ने सडक दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायसँग आवश्यक समन्वय एवं सहकार्य गरी अगाडि बढ्न निर्देशन दिनुभयो ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित तवरले सम्पन्न गर्नका लागि आवश्यक तयारीमा जुट्न पनि उहाँले निर्देशन दिनुभयो ।

प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक अरुणकुमार बिसी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवाली, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक मीरा चौधरी, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक किरण राणा लगायतका प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button