उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यलाई नियुक्ति पत्र प्रदान

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब, भत्ता तथा पारिश्रमिक पुनरावलोकन गर्न बनेको उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यहरूलाई नियुक्ति पत्र प्रदान गर्नु भएको छ । मङ्गलवार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्री शर्माले आयोगका संयोजक तथा दुई सदस्यलाई नियुक्ति पत्र प्रदान गर्नुभएको हो ।
आर्थिक बर्ष २०७९/२०८० बजेटको बुँदा नम्बर ३६७ मा (राष्ट्र सेवक कर्मचारीको न्यूनतम तलब र सुविधा पुनरावलोकन गर्न र श्रमिकहरूको तलब सुविधा को अध्ययन गरि नेपाल सरकारलाई सिफारिस गर्न एक उच्च स्तरीय तलब सुविधा आयोग गठन गरिनेछ) उल्लेख भए अनुसार अर्थ मन्त्री शर्माको प्रस्तावमा मन्त्रिपरिषद्ले यही भदौ ६ गते आयोग गठन गरेको थियो ।
आयोग पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठन भएको हो । संयोजक पौड्यालसहित सदस्यहरू पूर्व सचिव विमल वाग्ले र नेपाल राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक शिवनाथ पाण्डेलाई नियुक्ति पत्र प्रदान गरिएको हो ।

आयोगले नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रम बमोजिम राष्ट्रसेवक कर्मचारीहरूको तलबमान समायोजन गर्न सिफारिस गर्नेछ । त्यस्तै नेपालका सम्पूर्ण श्रमिकहरूको पारिश्रमिक, सेवा तथा सुविधाका मापदण्डहरू पनि सिफारिस गर्नेछ ।
नेपाल सरकारले आयोगलाई दिएको कार्य सर्तमा विगतमा गठन भएका तलब, भत्ता पुनरावलोकन गर्ने सम्बन्धी आयोग, समिति र कार्यदलबाट प्रस्तुत भएका प्रतिवेदनहरू बाट आवश्यक सूचनाहरू सङ्कलन गरी विश्लेषण गर्ने, दक्षिण एसियाली मुलुकहरूका राष्ट्रसेवक कर्मचारीहरूको तलब सुविधाको अध्ययन एवम् अर्थतन्त्रको वर्तमान अवस्थाको अध्ययन विश्लेषण गरि नेपालका राष्ट्र सेवक कर्मचारीको तलब सुविधा सिफारिस गर्ने, नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रम बमोजिम राष्ट्र सेवक कर्मचारीको तलबमान समायोजन गर्न सिफारिस गर्ने , कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका लगायतका निकाय तथा संवैधानिक निकाय समेतको जोखिम, कार्य समय, अतिरिक्त कार्य समय, कार्यभारको आधारमा उत्प्रेरणा योजना समेतको अध्ययन विश्लेषण गरी विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने गरि सिफारिस गर्ने लगायत रहेका छन्।
आयोगको समयावधि तीन महिनाको हुनेछ । यद्यपि आवश्यक परेको खण्डमा मन्त्रिपरिषद्ले यसको म्याद थप गर्न सक्नेछ भने आयोगका संयोजकको मन्त्री सरह र सदस्यहरूको राजपत्राङ्कित विशिष्ट श्रेणी सरह पारिश्रमिक तथा मर्यादाक्रम हुनेछ ।
अर्थमन्त्री शर्माले संयोजक तथा सदस्यहरूलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै सरकारले सबैलाई न्याय र समयानुकूल हुने पारिश्रमिक तथा सेवा सुविधाबारे गहिरो अध्ययन गरेर आयोगबाट सुझाव प्राप्त गर्ने विश्वास ब्यक्त गर्नु भयो। संयोजक पौडेलले नेपाल सरकारले विश्वास गरेर यो जिम्मेवारी दिएकोमा अर्थ मन्त्रिलाई धन्यवाद दिनुभयो र समयमै सरकारले अपेक्षा गरेको सुझाव दिने बताउनु भयो ।
आयोगको कार्यालय सङ्घीय मामिला मन्त्रालयमा रहने छ ।








प्रतिक्रिया राख्नुहोस्