सबैको साथ र सहयोगमा नागरिकता विधेयक अघि बढाइएको हो : गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले संविधानमा उल्लेख भएअनुरूप सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउन भन्ने सरकारको एउटै मात्र सदाशयता रहेको बताउनुभएको छ ।
राष्ट्रियसभा, विधायन समितिको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा राष्ट्रपतिको सन्देशका विषयमा भएको छलफलमा उहाँले कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले सरकारले विधेयक अघि बढाएको स्पष्ट गर्नुभयो ।

गृहमन्त्री खाणले भन्नुभयो, “विधेयलाई अनुमोदन गर्ने सन्दर्भमा प्रतिपक्ष मौन रहेर सहमति जनाएको थियो, विधेयक सबैको साथ र सहयोगमा अघि बढाइएको हो ।”
आमा र बाबु नेपाली भएर पनि नागरिकता पाउन नसकेर लाखौँ सन्तति प्रताडित भएको घटना सुनाउँदै उहाँले संविधानको प्रतिज्ञा र प्रतिबद्धताअनुसार अनागरिक बनेकाको माग सम्बोधन गर्न लामो प्रयास भए पनि नसकिएको स्वीकार गर्नुभयो ।
गृहमन्त्री खाणले राष्ट्रपतिको सन्देशमा पनि कुनै पनि नेपाली नागरिक नागरिकता प्राप्तिबाट वञ्चित हुनहुन्न भन्नेमा केन्द्रित रहेको बताउनुभयो ।
बैठकमा यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद देवेन्द्र दाहाल, भगवती न्यौपाने र विमला राई पौडेलले राष्ट्रपतिबाट प्राप्त सन्देश र विधेयकबीच मिलन हुन आवश्यक रहेको धारणा राख्नुभयो ।
उहाँहरूले वैवाहिक अङ्गिकृत नागरिकता प्राप्तिको प्रावधानका विषयमा नेपाली जनतालाई स्पष्ट पार्न माग गर्नुभयो ।
समिति सदस्य प्रमीला कुमारीले नेपाली आमा बाबुका जन्मसिद्ध नागरिकता प्राप्त गर्नुपर्ने ठूलो सङ्ख्यामा युवायुवती अनागरिक भएर बस्नु परेको बाध्यात्मक अवस्था अन्त्यका लागि अघि बढाइएको विधेयकलाई कहीँकतैबाट रोक्न नहुने विचार प्रकट गर्नुभयो ।
अर्का सदस्य जीतेन्द्रनारायण देवले सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पुगेको विधेयकका बारेमा राष्ट्रपतिबाट प्राप्त सन्देशमा कहीँ कतै असंवैधानिक र अनुपयुक्त रहेको भन्ने सन्देशमा नपाइएको बताउनुभयो ।

सन्देशमार्फत राष्ट्रपतिले लैङ्गिक र वैवाहिक अङ्गीकृत नागरिकताका विषयमा सरकार र राजनीतिक दलको सन्देशमा ध्यानाकर्षण गराएको उल्लेख गर्दै उहाँले सन्देशमा आएका विषयमा रचनात्मक बहस उपयुक्त हुने बताउनुभयो ।
उक्त विधेयक गत साउन ६ गते सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएकामा राष्ट्रपतिबाट साउन २९ गते आठ बुँदे सन्देशसहित प्रतिनिधिसभामा फिर्ता भएको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्