तपाईँ सुन्दै हुनुहुन्छः

केन्या विरुद्धको तेस्रो खेलमा नेपाल चार विकेटले विजयी 

काठमाडौँ । घरेलु टोली केन्या विरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले जित निकालेको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले केन्यालाई चार विकेटले हराएको हो ।

केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएर पूरा गर्‍यो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए । 

यस्तै डेब्यु खेलाडी अर्जुन साउदले ३५ रन बनाए । रोहित पौडेल २९ रनमा आउट हुँदा पवन सर्राफले २० रन बनाए । आदील अन्सारीले १६ रन जोड्दा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए ।

केन्याका भिराज पटेल र युगिनी ओचिङले २/२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

केन्याका लागि रकिप पटेल र इर्फान करिमले अर्धशतकीय इनिङ खेले । पटेलले अविजित रहँदै ७३ रन बनाए । उनले ४३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरेका करिम ५५ रनमा अविजित रहे ।  कोलिन्स ओबुयाले १८ रन जोड्दा सुखदिप सिंहले ८ रन जोडे ।

नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले १÷१ विकेट लिए ।

यस जितसँगै पाँच खेलको सिरिजमा नेपालले २–१ को अग्रता बनाएको छ ।

यस अघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

अब नेपाल र केन्याबीच चौथो टी-ट्वान्टी भोलि सोमबार हुनेछ । यस्तै पाँचौँ तथा अन्तिम टी–ट्वान्टी मङ्गलवार हुनेछ ।

टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।

पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button