समावेशी अधिकार निश्चित समयसम्मका लागि: मन्त्री भुसाल
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेखित समावेशितासम्बन्धी अधिकार निश्चित समयसम्मका लागि भएको बताउनुभएको छ ।

अखिल(क्रान्तिकारी) केन्द्रिय छात्रा विभागद्वारा आयोजित तीज विशेष शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा मन्त्री भुसालले महिलाले पाएको अधिकार निश्चित समयसम्म क्षमता अभिवृद्धिका लागि भएको बताउनुभयो ।
जनआन्दोलन र जनयुद्धको संयुक्त प्रयासबाट समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै मन्त्री भुसालले संविधानमा समेटिएका निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था लागू गर्नेसहितका मौलिक अधिकार संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले समाज परिवर्तन भएअनुसार तीज मनाउने तरिकामा परिवर्तन आएको उल्लेख गर्दै तीजलाई अलौकिकभन्दा पनि भौतिकवादी रूपमा वैज्ञानिक तवरले मनाउन आम महिलालाई अपिल गर्नुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य ओनसरी घर्तीमगरले तीजमार्फत अधिकारका लागि जनचेतना विस्तार गर्नुपर्ने बताउनुभयो ।
अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले आम महिलाले तीज पर्वलाई परिवर्तन र विद्रोहका रूपमा लिनुपर्ने बताउँदै अधिकार सुनिश्चित गर्नका लागि महिलाले निरन्तर सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्