तपाईँ सुन्दै हुनुहुन्छः

सोधपुछ बयानका लागि जबरालाई बोलाउने समितिको निर्णय

काठमाडौँ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई सोधपुछ बयानका लागि बोलाउने निर्णय गरेको छ । 

महाअभियोग सिफारिस समितिको सिंहदरबारमा आज बसेको बैठकले निलम्बित प्रधानन्यायाधीश जबरालाई सोधपुछ बयान लिन भदौ १५ गते बिहान ११ः०० बजे बोलाउने निर्णय गरेको हो । 

समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई लगाइएको महाअभियोगका सम्बन्धमा थप उजुरी, सूचना वा जानकारी दिन राष्ट्रियस्तरका कानुनी र न्यायिक क्षेत्रका संघ संस्थालाई पत्राचार गर्ने र  सोका लागि सार्वजनिक सूचना गर्ने समेत निर्णय गरेको छ । 

यसैगरी, समितिले आजै समितिको आन्तरिक कार्यविधि र कार्यतालिका पारित गरेको छ । समितिले महाअभियोगका सम्बन्धमा थप उजुरी, सूचना वा जानकारी दिनका लागि भदौ १२ गतेसम्म तीन दिनको समय दिने, १५ गते निलम्बित प्रधानन्यायाधीशसँग सोधपुछ बयान लिने र १९ गतेभित्र प्रतिवेदन तयार गर्ने कार्यतालिका बनाएको छ । 

जतिसक्दो चाँडो प्रतिवेदन बुझाउने सहमति गर्दै समितिले भौतिक रुपमा भने कसैलाई पनि बोलाएर छलफल नगर्ने सहमति बनाएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्ध २०७८ फागुन १ गते विभिन्न २१ बुँदे आरोपमा प्रतिनिधिसभामा महाभियोग दर्ता भएको थियो । जबराविरुद्ध महाअभियोग दर्ता भएपछि फागुन २२ गते महाअभियोग सिफारिस समिति बनेको थियो । 

फागुन २९ गते प्रतिनिधिसभामा महाअभियोग पेस भएको थियो । सो महाअभियोग प्रस्तावमा साउन २२ गते प्रतिनिधिसभाले सैद्धान्तिक छलफलपछि महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।

महाभियोग सिफारिस समितिमा सांसदहरु एकवाल मियाँ, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य रहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button