“भूमि प्रशासनमा प्रविधि र सुशासन” रेडियो कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) बीच “भूमि प्रशासनमा प्रविधि र सुशासन” नामक रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने सम्झौता भएको छ ।
विगत २ वर्ष अघिदेखि सञ्चालन हुँदै आएको यस रेडियो कार्यक्रमले भूमि प्रशासनमा प्रयोग भएको नवीनतम प्रविधि, सेवाग्राहीहरूका गुनासा, जग्गा प्रशासन सम्बन्धी भए गरेका नीति नियमहरूका अतिरिक्त विभागद्वारा सम्पादन भएका गतिविधिहरू र भूमि प्रशासनका सफल अभ्यासहरूलाई रेडियो कार्यक्रममार्फत सबै सरोकारवालाहरू समक्ष पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सो सम्झौतामा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्वर घिमिरे र रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले हस्ताक्षर गर्नु भएको छ । सम्झौता आदानप्रदान भएको सो अवसरमा रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्री, व्यापार महाशाखाका वरिष्ठ कर्मचारीहरू र व्यवस्थापन तथा अभिलेख शाखाका निर्देशक, नापी अधिकृतलगायतका कर्मचारीहरूको उपस्थित रहेको थियो ।

सम्झौता आदानप्रदान कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशकले विगतका वर्षहरू देखिनै सञ्चालित यो रेडियो कार्यक्रमले जग्गा प्रशासनका जटिल विषयहरूलाई आमजनता समक्ष पुर्याउन सहयोग पुर्याएको स्मरण गर्नुहुँदै रेडियो नेपालले प्रदान गर्दै आएको भूसतही प्रसारण तथा डिजिटल प्रसारणका बारेमा पनि जानकारी गराउनु भएको थियो । सो अवसरमा का. नि केसीले भूमि प्रशासनमा प्रविधि र सुशासन रेडियो कार्यक्रमलाई थप प्रभावकारी बनाउन भूमि व्यवस्थापन तथा अभिलेख विभागले आफ्ना अन्य वार्षिक कार्यक्रमहरू सँगै यो रेडियो कार्यक्रमलाई पनि सँगसँगै लैजान र स्थानीयस्तरमा मालपोत तथा नापी कार्यालयहरूबाट उपलब्ध सेवा सुविधाहरू तथा सेवाग्राहीका समस्याहरूलाई पनि सम्बोधन गर्ने माध्यमका रुपमा विकास गर्दै लैजानेतर्फ जोड दिनुभयो ।
त्यस्तै विभागका महानिर्देशक पिताम्वर घिमिरेले रेडियो कार्यक्रम भूमि व्यवस्थापन तथा अभिलेख सम्बन्धी गतिविधिहरू र जग्गा प्रशासनका नवीनतम प्रविधिहरूका बारेमा आफ्ना श्रोतालाई जानकारी गराउन सक्ने सरल र सुलभ माध्यम भएको बताउनुहुँदै यो कार्यक्रम मार्फत जग्गा प्रशासन सम्बन्धी विज्ञहरुको सल्लाह समेत समेटेर कार्यक्रमलाई यस आर्थिक वर्षमा अझ प्रभावकारी बनाउनेतर्फ विभाग क्रियाशील रहेको बताउनुभयो ।
२०७९ भाद्रदेखि २०८० असार मसान्तसम्म प्रसारण गरिने यो रेडियो कार्यक्रम रेडियो नेपालका मिडियम तथा एफ एम फ्रिक्वेन्सीहरू ९८, १०० र १०३ का अतिरिक्त रेडियो नेपालको डिजिटल प्लेटफर्म रेडियो नेपालको अनलाइन www.radionepal.gov.np & www.onlineradionepal.gov.np, न्यूज पोर्टल तथा रेडियो नेपाल एप मार्फत पनि सुन्न सकिन्छ ।









प्रतिक्रिया राख्नुहोस्