तपाईँ सुन्दै हुनुहुन्छः

निजामती सेवा ऐनको माग गर्दै भोजपुरका कर्मचारी आन्दोलित

भोजपुर । कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै भोजपुरमा कार्यरत निजामती कर्मचारीहरू आन्दोलित भएका छन् ।

जिल्लामा क्रियाशील ट्रेड युनियनहरूको अगुवाइमा कर्मचारीहरूले कालो पट्टी बाँधेर काम गरेका हुन । कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन तत्काल जारी गराउन निजामती कर्मचारी ट्रेड युनियन सञ्जालका मागसहित भोजपुरका सबै कार्यालयमा कर्मचारीहरूले हातमा कालो पट्टी लगाई कामकाज गरेको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती भोजपुरका अध्यक्ष नरेश राईले बताउनुभयो ।

ट्रेड युनियन सञ्जालले राखेका मागहरूमा ऐक्यबद्धता जनाउँदै भोजपुरमा कार्यरत निजामती कर्मचारीहरूले पनि केन्द्रिय कार्यक्रम अन्तर्गत कालोपट्टी हातमा बाँधेर काम गर्ने र कार्यालयहरूमा माग सहितको ब्यानर राख्ने काम गरिएको अध्यक्ष राईले बताउनुभयो ।

कर्मचारीहरूले उठाएका विभिन्न ११ बुँदे मागमा निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने, क्षतिपूर्ति सहितको नागरिक सेवा प्रवाहको सुनिश्चितता गरिनुपर्ने, तीनै तहमा कार्यरत कर्मचारीहरूलाई निजामतीको परिभाषामा समेटिनुपर्ने, तीनै तहमा तहगत प्रणाली लागु गरिनुपर्ने, अस्थायी, करार र ज्यालादारी कर्मचारीहरूको न्यायोचित व्यवस्थापन गरिनुपर्ने लगायतका रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button