तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटनमन्त्री श्रेष्ठद्वारा पशुपति संग्रहालयको उद्घाटन 

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल इन्भेष्टमेन्ट बैङ्कको आर्थिक सहयोगमा पुनर्निर्माण सम्पन्न भएको पशुपति संग्रहालय तथा महास्नान भवनको उद्घाटन गर्नुभएको छ । 

संग्रहालयमा धार्मिक महत्त्वका सुनका जलप लगाइएका मूर्ति, ताम्र पित्तल र ढलौटका मूर्तिहरू, ढुङ्गाका प्रस्तरकला, संस्कृति झल्काउने भेषभूषा, गरगहना, मुकुण्डो एवम् पुरातात्त्विक महत्त्वका काष्ठकला, चित्रकला, मूर्तिकला, लिच्छविकालीन मानदेवको शिलालेख, ऐतिहासिक पुस्तक, प्राचीन मुद्रा तथा मूर्त अमूर्त सम्पदाका सामग्रीहरु राखिएको छ । 

कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको विकासका लागि सांस्कृतिक सम्पदाहरूलाई संरक्षण  र संवर्द्धन गर्नुपर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले पाशुपत क्षेत्रमा छरिएर रहेका धार्मिक, सांस्कृतिक महत्त्वका सामग्रीहरूलाई एकै स्थानमा सङ्कलन, अभिलेखीकरण र प्रस्तुतीकरण गरी संग्रहालयको रुपमा विकास गरिनु निकै ठुलो उपलब्धि भएको बताउनुभयो । 

पशुपति परिसर सभ्यताको पहिचान बोकेको स्थान रहेको बताउनुहुँदै उहाँले यसको संरक्षण, व्यवस्थापन र सरसफाईमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । २०७२ सालको भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण पशुपति महास्नानघर भवनलाई नेपाल इन्भेष्टमेन्ट बैंकले पुनर्निर्माण गरेको हो । पुनर्निर्माणपछि बैंकले पशुपति क्षेत्र विकास कोषलाई पुननिर्मित पशुपति संग्रहालय महास्नान घर हस्तान्तरण गरेको छ ।

बैंकले पशुपति संग्रहालय महास्थानघर परियोजनामा ५ करोड १४ लाख रुपैयाँ तथा पाशुपत क्षेत्रको संरक्षणार्थ करिब ४ करोड गरी कुल ९ करोडभन्दा बढी सहयोग गरेको छ । बैङ्कका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले पशुपति संग्रहालय तथा महास्नान भवनको संरक्षण र मर्मत सम्भारमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्री श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत नेपाल इन्भेष्टमेन्ट बैंकले गरेको प्रयास अन्य बैङ्क तथा वित्तीय संस्थाका लागि पनि अनुकरणीय रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button