तपाईँ सुन्दै हुनुहुन्छः

विश्वकप क्रिकेटको ट्रफी सगरमाथाको आधार शिविरमा पुर्‍याइने

काठमाडौँ । अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले विश्व भ्रमणको दौरानमा यसै महिना नेपाल आइपुग्ने विश्वकप ट्रफी सगरमाथाको आधार शिविरमा पुर्‍याइने जानकारी दिनुभयो ।

आइसिसीको तालिका अनुसार विश्वकप ट्रफी भदौ १४ मा नेपालमा आइपुग्ने छ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याउन लागिएको हो । यस अघि २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो ।

टी–ट्वान्टी विश्वकपको ट्रफी भने पहिलो पटक नेपाल ल्याउन लागिएको हो । विश्वकपको ट्रफी दुई दिन नेपालमा रहने छ । ट्रफीलाई जनकपुर तथा भक्तपुर दरबार क्षेत्रमा समेत राखिने छ ।

विश्वकपको १०० दिने ट्रफी टुर जारी रहेको छ । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिँदै छ । अस्ट्रेलियाको ७ सहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ । विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button