तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीकोटमा दहीको होली खेलियो

कास्की । श्रीकृष्ण जन्माष्टमीको अवसरमा पोखरा २४ कास्कीकोटमा दहीको होली खेलिएको छ ।

भगवान् श्रीकृष्णको जन्म भएको भोलिपल्ट परापूर्व कालदेखि कास्कीकोटमा दही जात्रा हुँदै आएको छ । गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा भएको दहीको होलीमा हजारौँ मानिसको सहभागिता थियो ।

जात्रा संरक्षण तथा प्रवर्द्धन गर्न पोखरा २४ वडा कार्यालयले आगामी दिनमा अझै व्यवस्थित बनाउँदै थप प्रचारप्रसार गर्नुपर्ने वडाध्यक्ष भरत बहादुर अधिकारीले बताउनुभयो ।

गत वर्षहरुमा कोरोना कहरका कारण रोकिएको दही जात्रा यस पटक विभिन्न सांस्कृतिक झाँकी, बाजागाजा सहित निकालिएको थियो । अन्य ठाउँमा श्रीकृष्णको जन्म हुनु भन्दा पहिले नै नाचगान तथा जात्रा निकाल्ने गरिन्छ तर, कास्कीकोटमा श्रीकृष्ण जन्मिएको भोलिपल्ट दहीको होली खेलेर मनाउने गरिएको गुप्तकालीका मन्दिरका पुजारी बलराम त्रिपाठीले बताउनुभयो ।

विगत ६ वर्षदेखि स्थानीयहरूले एकआपसमा दही छ्यापेर पर्व मनाउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button