विद्यालयमा सेनाको एनसीसी तालिम

बर्दिबास । महोत्तरीको मटिहानीस्थित श्रीराम माध्यमिक विद्यालयमा नेपाली सेनाको राष्ट्रिय सेवा दलले संस्थागत तालिम सुरु गरेको छ ।
नेपाली सेनाको रणभीम गण परकौली जलेश्वरका प्रशिक्षकहरूले विद्यालयका ३६ जना छात्रछात्रालाई राष्ट्रिय सेवा दलको संस्थागत प्रशिक्षण सुरु गरेको हो । बिहीबार मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल र रणभीम गण परकौलीका गणपति उत्तम कटवालले तालिमको उद्घाटन गर्नु भएको हो ।

‘अनुशासन नै राष्ट्र सेवाको मुल जग हो’ भन्ने आदर्श वाक्य भएको यस राष्ट्रिय सेवा दलको मुख्य लक्ष्य युवा वर्गलाई अनुशासित, वफादारिता तथा ईमान्दारीता, राष्ट्रिय एकताको भावना र नेतृत्व क्षमताको विकाश गराउनुको साथै भविष्यमा विपद्को समयमा उद्धार तथा राहत कार्यमा स्वंम सेवकको भूमिका निर्वाह गर्न सक्ने दस्ता तयार गर्नु रहेको गणपति कटवालले बताउनुभयो ।
करिब एकसय दिन चल्ने सो तालिममा तेकवान्दो, खुकुरी, ड्रिल, खालीहाथ ड्रिल, हतियारको लेशन लगायतका प्रशिक्षण दिइने उहाँले बताउनुभयो ।
तालिमको उद्घाटन कार्यक्रममा मटिहानी नगरपालिका–६ का वडाध्यक्ष कलिम अन्सारी, वडा नं ८ का वडाध्यक्ष रितेश साह, कार्यपालिका सदस्य अरुण नाहर, नगरपालिकाका शिक्षा संयोजक चन्देश्वर साह लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्