हवाई उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति: मन्त्री श्रेष्ठ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले हवाई उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताउनुभएको छ ।
नेपाल हवाई यातायात नियन्त्रक सङ्घले बुधवार काठमाडौँमा आयोजना गरेको २१ औँ वार्षिक साधारण सभामा मन्त्री श्रेष्ठले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपियन युनियन(ईयू)को हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयनबारे अन्तर्राष्ट्रिय प्रतिवेदनमा ‘विश्वको औसतभन्दा राम्रो’ अवस्था देखिएको चर्चा गर्नुहुँदै उहाँले ईयूले आफ्नो निर्णयबारे पुनर्विचार गर्ने बताउनुभयो ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)को परीक्षणमा नेपालको उड्डयन सुरक्षा मापदण्ड कार्यान्वयनको औसत दर ७०.१ प्रतिशत देखिएको थियो । ईयूको प्रतिनिधिमण्डल छिट्टै नेपाल आएर स्थलगत अनुगमन गरी हवाई प्रतिबन्ध सूचीसम्बन्धी निर्णय पुनर्विचार गर्नेछ ।
मन्त्री श्रेष्ठले हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन सरोकारवाला सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
सन् २०१३ यता ईयूले हवाई प्रतिबन्ध सूचीमा नेपाललाई राखेको छ भने आईकाओले सन् २०१७ देखि प्रतिबन्ध फुकुवा गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्