तपाईँ सुन्दै हुनुहुन्छः

सर्प दंश उपचार केन्द्रलाई प्रभावकारी बनाइने

बर्दिबास । महोत्तरीको बर्दिबासमा सर्प दंशका कारण १५ दिनको अन्तरालमा दुई जनाको ज्यान गएपछि बर्दिबासवासी चिन्तित बनेका छन् ।

सर्प दंशबाट बर्दिबासका स्थानीय युवराज श्रेष्ठ र इन्दु खनालको सर्प दंश उपचार केन्द्रमा भेन्टिलेटर सहितको उपचार सेवा नभएर अकालमै ज्यान गएपछि चिन्ता बढेको बर्दिबास नरपालिका मेयर प्रह्लाद कुमार क्षेत्रीले बताउनुभयो ।

सर्प दंश उपचार केन्द्र बर्दिबासको ८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मेयर क्षेत्रीले उपचार केन्द्रलाई भौतिक पूर्वाधार, उपकरण, औषधी लगायतका सामग्री उपलब्ध गराएर सुविधा सम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बर्दिबास सरकारी अस्पताल वा सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर सञ्चालनका लागि नेपाली सेनासँग समन्वय भइरहेको मेयर क्षेत्रीले बताउनुभयो । धुलिखेल अस्पतालसँग पनि बर्दिबास अस्पताललाई सुविधा सम्पन्न बनाउन सम्झौता गरेर जनशक्ति सहितको भेन्टिलेटर सेवा सञ्चालनका लागि छलफल अघि बढाइएको उहाँले बताउनुभयो ।

सर्पदंश उपचार केन्द्रका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद देवकोटाका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा सर्पको टोकाइसहित अन्य १ हजार ३७ जनाको उपचार भएको छ ।

यता, सर्प दंश उपचार केन्द्रलाई गौरीबास–काठमाडौँ समाजले १० लाख बराबरको एम्बुलेन्स प्रदान गरेको छ । उपचार सेवालाई प्रभावकारी बनाउन एम्बुलेन्स प्रदान गरिएको समाजका सल्लाहकार उमेश बख्रेलले बताउनुभयो ।

साधारण सभामा सर्प दंश उपचार केन्द्रलाई सहयोग गर्ने व्यक्ति, सङ्घसंस्थालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button