मेलम्ची-पाँचपोखरी सडक भासिँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य

सिन्धुपाल्चोक । मेलम्ची —पाँचपोखरी सडक भासिँदा यहाँका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
मेलम्ची —९ ज्यामिरे राम्चेडाँडामा पहिरो गएको करिब दुई साता भइसकेको छ । यस क्षेत्रको एक मात्र विकल्पको रुपमा रहेको मेलम्ची —पाँचपोखरी सडक तलबाट भासिएर पहिरो जाँदा यात्रा गर्न निकै जोखिम रहेको छ ।
सडक जीर्ण हुँदा समेत जोखिम मोलेर जसोतसो यातायातका साधनहरू गुडिरहेका छन् । यसले गर्दा कति बेला अप्रिय घटना घट्छ भन्न सकिने अवस्था नरहेको पाँचपोखरी थाङपाल गाउँपालिका स्थानीय सुन्दर सापकोटाले बताउनुभयो ।
केही दिन अगाडि मात्रै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, इन्जिनियर लगायतको टोलीले अवलोकन गरि तत्काल सडक मर्मत गर्ने बताए पनि अझै सडक मर्मतको काम सुरु हुन सकेको छैन ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका प्रवक्ता नारायण भट्टराईले मेलम्ची नगरपालिकालाई छिटोभन्दा छिटो सडक मर्मत गरि व्यवस्थित बनाउन आग्रह गर्नुभयो
गाउँपालिका अध्यक्ष टासी लामाले पटक पटक नगरपालिकालाई आग्रह गरेको तर काम नभएको गुनासो गर्नुभयो ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बजेट विनियोजन भइसकेको भन्दै अब काम सुरु हुने बताउनुभयो ।
उहाँले माथि काट्ने ठाउँ नभएका कारण तलबाट वाल लगाउनुपर्ने भएकाले केही ढिला भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्