सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ पारित गरेको छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री मोहम्मत इस्तियाक राईले प्रस्तुत गर्नुभएको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ बहुमतले पारित गरेको हो ।
अहिले बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिको प्रतिवेदनसहित प्रस्तुत गर्नुभएको बीमा विधेयक, २०७५ माथि छलफल जारी छ ।
यसअघि बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
बैठकमा नेकपा एमालेका सांसदहरु योगेशकुमार भट्टराई, रामवीर मानन्धर, भूमि त्रिपाठी, मायादेवी न्यौपाने, निरुदेवी पाल, यज्ञराज सुनुवार, झपट रावल, लगायतले काठमाडौँमा थुप्रिएको फोहोर व्यवस्थापन गर्न संसदीय समिति गठन गरी सिसडोलबासीको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने माग सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी, बैठकमा बलात्कार पीडित नेहारिकालाई तत्काल न्याय दिनुपर्ने, आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा ५० प्रतिशत महिलाको उम्मेदवारी सुनिश्चित गरिनुपर्ने, मिटरव्याजीहरुको सम्पत्ति छानविन गरिनुपर्ने, नुवाकोटका विभिन्न स्थानमा बाढीपहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्