कांग्रेस प्रवक्ता महतद्वारा बाढी पहिरोग्रस्त क्षेत्रको निरीक्षण

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले बुधबार र बिहीबार नुवाकोट क्षेत्र नं १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गर्नुभएको छ ।
साउन २४ गते राति परेको भीषण वर्षाले नुवाकोट क्षेत्र नं १ को तादी खोलामा आएको बाढीले दुप्चेश्वर ३ राउतबेशी , तादी ४ सातबिसे र पञ्चकन्या ४ थप्रेक जोड्ने पक्की पुल , पञ्चकन्या २ आप्र र तादि ५ बाहुनवेशी जोड्ने पक्की पुल, पञ्चकन्या १ को सिमारा फाँट र लिखु ३ सुर्यमति र १ ढिकुरे जोड्ने पक्की पुलहरू क्षतिग्रस्त भएका छन् ।

पञ्चकन्या र तादि जोड्ने पुलको क्षति अवलोकन गरेपछि उहाँले भन्नुभएको छ,”साउन २४ गते राति परेको भीषण वर्षाले नुवाकोट क्षेत्र नं १ मा अकल्पनीय विनाश निम्त्याएको छ । पञ्चकन्या र तादी गाउँ पालिका जोड्ने आप्र पुल क्षतिग्रस्त भएको छ । सडक कार्यालय र स्थानीय तहको समन्वयमा भत्किएको पुलको तुरुन्त पुनर्निर्माण गरी आवागमन सुचारु गर्नुपर्दछ। बाढी पहिरो प्रभावित क्षेत्रका लागि थप बजेट उपलब्ध गराउन म सरकारसँग जोडदार माग गर्दछु ।”
आफ्नो गृह जिल्लाको प्राकृतिक प्रकोप पीडितलाई भेट्न पुग्नुभएका पूर्वमन्त्री डा. महतले सातबिसेर थप्रे जोड्ने तादी खोलाको पुलको निरीक्षण पछि भन्नुभएको छ,”बाढीले सातबिसे र थप्रे जोड्ने तादी खोलामाथिको पुल पनि क्षतिग्रस्त बनाएको छ । आवागमन सहज बनाउन जतिसक्दो छिटो यस्को पुनर्निर्माण गर्नुपर्दछ। यसतर्फ सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।”

आलो पहिरो नथामिएको र सिमसिम पानी परिरहेको बेलामा बाढी पहिरो प्रभावितसँग प्रत्यक्ष भेट्ने, राहत, क्षतिपूर्ति, पुनस्थापना तथा पुन निर्माणका बारेमा छलफल गर्ने उद्देश्यले बाढी पहिरोग्रस्त क्षेत्रमा डा.महत पुग्नुभएको थियो । उहाँले पहिरोबाट अधिक प्रभावित राउतबेशीको निरीक्षण भ्रमणपछि भन्नुभएको छ “बाढीपहिरोले दुप्चेश्वर ३ राउतबेशीमा विनासलिला मच्चाएको छ । यो प्राकृतिक प्रकोपबाट पीडित र प्रभावित नागरिकहरूलाई राहत तथा विपद्बबाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन र भत्किएका भौतिक संरचनाहरूको पुनर्निर्माणको लागि शीघ्र कदम चाल्न म नेपाल सरकारसँग माग गर्दछु ।”
नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतज्यूले बाढीबाट क्षतिग्रस्त तादी खोलामा निर्मित बुद्धभूमि हाइड्रोपावरको पनि निरीक्षण गर्नुभयो । निरीक्षणपछि उहाँले भन्नुभएको छः “बाँधस्थल, क्यानल , पावरहाउसमा समेत बाढीले क्षति पुर्याएको छ । अहिले उत्पादन बन्द भएको छ । बाढी पहिरोबाट प्रभावित बिद्धुत आयोजना सुचारु गर्न आवश्यक नीतिगत र अन्य सहयोगको व्यवस्था गर्न म नेपाल सरकारसँग अनुरोध गर्दछु।”

बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण र प्रभावित नागरिकहरूको भेटपछि डा.महतले स्थानीय जनप्रतिनिधिहरुसंग राहत,पुनस्थापना र पुनर्निर्माणको बोरमा छलफल पनि गर्नुभएको थियो ।
उहाँले स्थानीय जनप्रतिनिधिहरूलाई पहिले पहिरो र बाढीले पुर्याएको क्षतिको यथार्थ विवरण सङ्कलन गर्न, प्रभावितहरूको सूची तयार पार्न र क्षतिग्रस्त भएका संरचनाहरू मध्ये सानातिना र थोरै रकमले हुने मर्मतसंभार पालिकाको बजेटबाट सम्पन्न गर्न सुझाव दिनुभयो । डा।महतले प्राविधिक सहयोग चाहिने र ठूलो रकम चाहिने संरचनाको हकमा प्रदेश सरकार र संघीय सरकारसँग यथोचित बजेट यथाशीघ्र उपलब्ध गराउन आफूले पनि सक्दो सहयोग गर्ने वचन दिनुभएको थियो ।











प्रतिक्रिया राख्नुहोस्