बुटवलमा २ अर्बभन्दा बढी लगानीमा आधुनिक कृषि बजार बन्ने
रुपन्देही । बुटवलको सेमलारमा २ अर्बभन्दा बढी लगानीमा आधुनिक कृषि बजार बन्ने प्रक्रिया अघि बढेको छ ।
स्वदेशमा उत्पादित कृषि उपज निर्यात र बिचौलिया रोक्ने योजनासहित बुटवल १५ र १६ मा पर्ने सेमलार क्षेत्रमा कृषि बजार निर्माणको प्रक्रिया अघि बढेको हो ।
जसका लागि जग्गा प्राप्तिको लागि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सहमति जनाएको छ । जिल्ला प्रशासन कार्यालय भैरहवामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सो जग्गा विपद्का लागि प्रयोग नहुने र जोखिमपूर्ण स्थानमा नरहेकोले सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो । स्थानीयको सहमतिपश्चात् बुटवल उपमहानगरपालिकाले विपद् व्यवस्थापन समितिको बैठकमा प्रस्ताव लगेको थियो । नेदरल्याण्डस् सरकारको अनुदानमा यहाँ लगानी हुने भएको छ ।
विपद् व्यवस्थापन समितिले बुटवल उपमहानगरपालिकालाई जग्गा उपलब्ध गराउन कुनै बाधा नदेखिएको भन्दै सिफारिस गरेपछि बुटवल उपमहानगरपालिकाले भूमिसुधार मन्त्रालयमा जग्गा प्राप्तिको लागि प्रस्ताव लग्न बाटो खुलेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो । नदी उकास क्षेत्रको ४२ बिघा जमिनमा बन्ने केन्द्रमा कृषि उपज सङ्कलन, प्रशोधन, बिक्री वितरण र भण्डारण हुनेछ ।
नेपाल सरकारले नेदरल्याण्डस् सरकारलाई आधुनिक प्रविधियुक्त थोक कृषि बजार निर्माणको लागि अनुरोध गरेपछि सन् २०१९ डिसेम्बर १७ मा पहिलो र दोस्रो चरणको सम्भाव्यता अध्ययनको लागि अनुदान सम्झौता भएको थियो । सो बजारमा १ लाख मेट्रिक टन क्षमताको खाद्यान्न बालीको गोदाम राख्ने योजना छ । ५० हजार टन क्षमताको तरकारी, पशुपन्छी, फलफूलसम्बन्धी वैज्ञानिक प्रविधिसहितको गोदाम घर, खाद्य, तरकारी, फलफूलको गुणस्तर निर्धारण गर्ने प्रयोगशाला, प्रशोधन केन्द्र र बीउ भण्डार गृह निर्माण गरिने प्रस्ताव छ ।








प्रतिक्रिया राख्नुहोस्