उत्पादनमूलक क्षेत्रमा चन्दननाथ सहकारीको डेढ अर्ब लगानी

जुम्ला । रोजगारी सृजना, आयात प्रतिस्थापन र नागरिकको आयआर्जन वृद्धिका लागि जुम्लास्थित चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले उत्पादनशील क्षेत्रमा ऋण लगानी गर्दै आएको छ । २०३१ सालमा स्थापना भई २०२८ यतादेखि लघुवित्तको सेवा दिइरहेको चन्दननाथ सहकारीले उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिएर ऋण लगानी गर्दै आएको हो ।
प्रतिवेदन अनुसार कृषि, होटल व्यवसाय, खुद्रा व्यापार, भेडाबाख्रा पालन, लगायतका उत्पादनशील क्षेत्रमा चन्दननाथ सहकारीले हालसम्म झण्डै डेढ अर्ब बराबरको ऋण लगानी गरेको छ । मङ्गलवार पत्रकार सम्मेलन गरी सहकारीले हाल सम्म कर्णाली प्रदेशको जुम्ला लगायत ६ जिल्लामा १ अर्ब ४९ करोड ८४ लाख ३६ हजार ऋण लगानी गरेको सहकारीका प्रबन्धक रिषिराम पाण्डेले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ऋण लगानीका लागि उत्पादनशील क्षेत्रलाई पहिलो प्राथमिकता दिएका छौ । ५ लाख देखि १ करोड सम्म व्यावसायिक ऋण उपलब्ध गराएका छौ । सहकारीमा आबद्ध सदस्यहरु ऋण लिएर उल्लेखीय प्रगति गरेका धेरै उदाहरण पनि छन् ।”

लगानी भएको झण्डै डेढ अर्ब ऋण मध्य हाल १ अर्ब १७ करोड २० लाख १३ हजार १ सय असुली भइसकेको छ । भने, अझै ३२ करोड ६४ लाख २२ हजार ८ सय ९८ रुपैयाँ ऋण असुली गर्न बाँकी छ ।
चन्दननाथ बहुउद्देश्यीय सहकारीले गत आव २०७८÷०७९ मा मात्रै ८ करोड १९ लाख ८० हजार ३ सय आम्दानी गरेकोमा सहकारीलाई खुद आम्दानी १ करोड ५२ लाख २५ हजार रुपैयाँ भएको पाण्डेले जानकारी दिनुभयो ।
साथै सहकारीमा अहिले सम्म २१ हजार ७ सय ४४ जना सदस्य रहेका छन् । उनीहरूबाट सङ्कलित बचत कुल १ खर्ब ९० करोड ५० लाख १६ हजार ५ सय २६ रुपैयाँ पुगेको छ ।
सहकारीले गत आवमा ७ करोड १४ लाख ५७ हजार ७ सय ३८ रुपैयाँ खर्च गरेको छ । शेयर पुँजी ३ करोड ४० लाख ३५ हजार ४१ रुपैयाँ रहेको छ । भने २ करोड ६६ लाख ७७ हजार रुपैयाँको विभिन्न कोष खडा गरिएको छ । चन्दननाथ बहुउद्देश्यीय सहकारीमा २९ वटा सेवा केन्द्र, ११ वटा लघुवित्त, २ वटा मेडिकल, २ वटा सुपथ पसल र २ वटा अर्ग्यानिक पसल सञ्चालनमा छन् ।
साबिकका कर्णालीका ५ वटै जिल्लाका सबै स्थानीय तहमा सहकारीले आफ्नो लघुवित्त सेवा शुरु गर्ने लक्ष्य राखिएको छ । साथै सहकारीकै माध्यमबाट कर्णालीका महिलामा वित्तीय साक्षरताको पहुँच वृद्धि भएको समेत पाण्डेको दाबी छ ।
चन्दननाथ सहकारीले अधिकतम उत्पादनशील क्षेत्रमा ऋण लगानी गर्ने योजना बनाएको छ । बढ्दो बेरोजगारीलाई कम गर्न, युवा पलायन रोक्न, रैथाने बस्तुको उत्पादन वृद्धि गर्न र नागरिकको आयआर्जन वृद्धिका लागि आवश्यकता अनुसार ऋण लगानी गर्न सहकारी तयार रहेको प्रबन्धक रिषिराम पाण्डे बताउनुहुन्छ ।
उहाँले भन्नुभयो,“हामीले जत्ति पनि ऋण लगानी गर्न तयार छौ । यहाँ उद्यमीको खाँचो छ । सृजना युवाको कमी छ । बेरोजगारी बढ्दै छ । खेती योग्य जमिन बाँझिदै छ । तर उद्यमशीलता भने निकै कम छ । आफ्नै गाउँठाउँमा केही इलम गर्न चाहने उद्यमीलाई हामी सहजै ऋण दिन तयार छौ ।”
उत्पादन वृद्धिका लागि जग्गा बाँझो नराख्ने अभियान थाल्ने समेत योजनामा रहेको पाण्डेको भनाई छ । ऋण लगानीका लागि सहकारीले युवा उद्यमी खोजिरहेको छ । बारी बाँझो राखेर काम खोज्नका लागि खाडी र काला पहाड भौँतारिने युवालाई नमुना उद्यमी बनाउन ऋण लगानी सँगै वित्तीय साक्षरता समेत दिन चन्दननाथ सहकारी तयार छ ।
बैङ्क भन्दा अब्बल कारोबार गर्दै आएको चन्दननाथ सहकारीले कर्णालीमा आर्थिक क्रान्ति गर्ने उद्देश्य बोकेको छ । उत्पादनशील क्षेत्रमा थप लगानी बढाउँदै निर्यात प्रवर्द्धन गर्ने आर्थिक समृद्धि हासिल गर्ने समेत सहकारीको दाबी छ ।








प्रतिक्रिया राख्नुहोस्