मङ्गलसेन नगरपालिकाले भन्यो : असोजभित्रै योजनाको सम्झौता गर्नु
अछाम । अछामको मङ्गलसेन नगरपालिकाले चालु आर्थिक वर्षमा सम्पन्न हुने योजनाको असोज महिनाभित्रै सम्झौता गर्न आग्रह गरेको छ ।
चालु आर्थिक वर्षमा नगर तथा वडाबाट विनियोजन भएका योजनाहरूको असोज महिनाभित्र सम्झौता गर्न भनिएको नगरप्रमुख पदम बोहराले बताउनुभयो ।
हरेक योजनाहरू असार मसान्तमा मात्रै हतारमा सम्पन्न गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै यसो हुन नदिन र काम गुणस्तरीय रुपमा सम्पन्न गर्नका लागि यसो गरिएको नगरप्रमुख बोहराको भनाई छ ।
तोकिएको समयावधि भित्र सम्झौता नभएका योजनाहरूको काम कारबाही अगाडि नबढाइने प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले बताउनुभयो ।
उहाँले विकास निर्माणका कार्यलाई प्रभावकारी र गुणस्तर बनाउनको लागि योजना समयमा सुरु गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
हाल आर्थिक वर्षको अन्तमा योजनाको सम्झौता गर्ने तथा काम सम्पन्न हुन नसकी बजेट फिर्ता जाने समस्या रही आएको छ । समयमै सम्झौता गरी काम अघि बढाउनाले यो समस्यामा कमी आउने नगरको विश्वास छ ।








प्रतिक्रिया राख्नुहोस्