तपाईँ सुन्दै हुनुहुन्छः

नारायणगढ–मुग्लिन सडक २० घण्टादेखि अवरुद्ध

चितवन । गए रातिदेखि नै पहिरोका अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन ।

२० घण्टादेखि अवरुद्ध सो सडक सञ्चालनमा नआउँदा यात्रुले सास्ती भोगेका छन् । यात्रुमा सडकमा नै अलपत्र परेका छन् । गए रातिदेखि नै सडक बन्द भएकाले गाडीको लामो लाइन छ । रातिदेखि नै रोकिएका यात्रुहरू भोक, तिर्खा र गर्मी सहेर बस्न बाध्य छन् ।

पहिरो पन्छाउने काम भइरहे पनि आज सडक खुलाउन सकिने सम्भावना कम रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले बताउनुभयो । पन्छाउने क्रममा माथिबाट पहिरो खसेर फेरि पुरिएको उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिकाको १७ किलो र इच्छाकामना गाउँपालिका ६ मा पर्ने ३ नम्बर पुलको बीचमा खसेको पहिरो पन्छाइएको छ । भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारी र मुग्लिन नजिक घोप्टे खोलाको पहिरो पन्छाउन बाँकी रहेको अधिकारीले बताउनुभयो ।

उता नौबिसे–मुग्लिन सडक खण्डमा पनि ठाउँ–ठाउँमा पहिरो गएको छ । पहिरोका कारण सडक बन्द भएकाले यो सडक हुँदै चल्ने गाडीलाई बिहानैदेखि नाका–नाकामा रोकिएको छ ।

यसैबीच नारायणगढ मुग्लिन सडकका ठाउँ–ठाउँमा पहिरो खसेको र वर्षाका कारण पन्छाउन समस्या भइरहेको भन्दै यात्रा गर्नै परे वैकल्पिक सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button