प्रतिनिधि सभामा शपथ सम्बन्धी विधेयक छलफलका लागि पेश

काठमाडौँ । प्रतिनिधि सभामा शपथ सम्बन्धी विधेयक, २०७९ छलफलका लागि पेश गरिएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त उक्त विधेयक सभा समक्ष पेश गर्नुभएको हो ।
यस्तै बैठकमा राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त खानेपानी तथा सरसफाइ विधेयक, २०७७ टेबुल गरिएको छ । उक्त विधेयक प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले टेबुल गर्नुभएको हो ।
यस अघि बैठकमा सांसदहरुले बाढी पहिरो प्रभावितको उद्धार राहत र पुनः स्थापना तथा खोटाङ केन्द्र भई साउन १५ गते गएको भूकम्पबाट क्षति पुगेका भौतिक संरचनाको पुनः निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सांसद्हरुले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षकहरूको दरबन्दी थप गर्न तथा नियमित अनुगमन गरि शिक्षा क्षेत्रका विकृतिको अन्त्य गर्न उपयुक्त कदम चाल्न पनि माग गर्नुभयो ।
बैठकमा सांसद्हरुले भारतले मूल्य घटाएर पठाए अनुसार नेपाल आयल निगमले तत्काल मूल्य समायोजन गर्नुपर्ने, पूर्व सहमति विपरीत विप्लव समूहलाई गरिएको पत्राचार फिर्ता लिनुपर्ने माग गर्नुभयो ।
यस्तै बैठकमा निकुञ्ज आसपास र मध्यवर्ती क्षेत्रका बासिन्दाको जीउ धन रक्षाका लागि छेकबार लगाउन तथा मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि उपयुक्त कदम चाल्न ध्यानाकर्षण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्