तपाईँ सुन्दै हुनुहुन्छः

निजी वनका कारण पर्ती जग्गा हराभरा हुँदै

विराटनगर । मोरङ बुढीगंगा गाउँपालिका–१ का किसान धनिराम चौधरीले ग्रामथान गाउँपालिका–४ मा सवा तिन विघा जग्गामा निजी वन लगाउनुभएको छ ।

५५ लाखमा जग्गा खरिद गरि बनाइएको निजी वनमा मलेसियन सखुवा, टिक, मसला तथा कागतीका गरि चार हजार बिरुवा छन् । खोला छेउमा चार वर्षअघि लगाएको निजी वन सवैका लागी उदाहरणीय मात्र बनेको छैन, सो क्षेत्र नै हराभरा भएको छ । निजी वनभित्र उन्नत जातका राँगा समेत पालेर बिक्री गर्दै आउनुभएका चौधरीले जग्गा खाली छाड्नुभन्दा ढिलै भए पनि आम्दानी आउने भएकाले अरू किसानलाई पनि वन लगाउन आग्रह गर्नुभएको छ ।

त्यस्तै ग्रामथान– १ का किसान तेतालाल माझीले पनि १८ कट्ठा जग्गामा १ हजार ४० टिकका बिरुवा लगाउनुभएको छ । तीन वर्षअघि लगाइएका टिकका बिरुवा हुर्कँदै छन् । दुरी कायम गरेर लगाइको टिकका बिरुवा ठुला भएपछि खाली जग्गामा उहाँले तरकारीका साथै धान समेत रोप्नुभएको छ ।

पूर्व पश्चिम राजमार्ग दक्षिणतर्फ अहिले १५ सय विघा क्षेत्रफलमा निजी वन रहेको छ । डिभिजन वन कार्यालय मोरङले नेपालमै पहिलो पटक निजी वन विस्तारका लागी निजी वन उत्पादन, प्रवर्द्धन तथा कृषि वन प्रणाली विकास कार्यक्रम अन्तर्गत वन लगाउने किसानलाई अनुदान समेत दिन थालेको छ ।

कार्यक्रम अन्तर्गत राम्रो हैसियतका वन लगाउने किसानलाई वनको गोडमेल, सिँचाइ तथा वनका हाँगा काट्न अनुदान दिइएको सव डिभिजन वन कार्यालय विराटनगरका प्रमुख परमेश्वर पासवानले बताउनुभयो । सहायक वन अधिकृत पासवानले गत आर्थिक वर्ष सो कार्यक्रम अन्तर्गत ३९ जना किसानलाई २५ लाख अनुदान दिइएको बताउनुभयो । राष्ट्रिय वनको पहुँच पुग्न नसकेको अवस्थामा दक्षिण भेगका किसानलाई लक्षित गर्दै आफूहरूले नेपालमै पहिलो पटक यस्तो कार्यक्रम ल्याएपछि मोरङमा निजी वन फस्टाएको उहाँको भनाइ छ ।

मोरङ विराटनगर महानगरपालिका सहित दक्षिणी भेगका सात वटा पालिकामा गरी ६ सय ५८ वटा निजी वन दर्ता भएका छन् । निजी वन अन्तर्गत मोरङमा वार्षिक १२ हजार रुख कटान हुने गरेकोमा त्यसबाट वार्षिक ३ लाख सेफ्टी काठ उत्पादन हुने गर्दछ ।

जिल्लाको माग अनुसार ८० प्रतिशत काठको माग निजी वनले पुरा गर्ने गरेको कार्यालय प्रमुख पासवानको भनाई छ । सिसौ, टिक, मसला तथा मलेसियन सखुवा जस्ता निजी वनमा लगाइने काठहरूको माग धेरै हुने गरेकाले किसानहरू निजी वनतर्फ आकर्षित भएका हुन ।

झण्डै ८ वर्षअघि खाली देखिने खोला किनार, ऐलानी तथा सरकारी साथै निजी जग्गाहरू अहिले निजी वनका कारण हराभरा भएका छन् । कटान भएको स्थानमा वार्षिक १२ लाख बिरुवा रोपिने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button