तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्ज महानगरपालिकाको बेरुजु साँढे २ अर्ब बढी

वीरगन्ज । प्रदेश दुईको एक मात्र महानगरपालिका वीरगञ्जको तीन आर्थिक वर्षको बेरुजू रकम दुई अर्ब ६६ करोड ८४ लाख पुगेको छ ।

महालेखापरीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदन अनुसार वीरगञ्ज महानगरपालिका कार्यालयको २०७८ असार ३१ गतेसम्म समाप्त आर्थिक कारोबारको लेखापरीक्षण गर्दा एक आर्थिक वर्षमा मात्र ७६ करोड २७ लाख बेरुजू रकम ठहर भएको छ ।

आर्थिक बर्ष २०७५/०७६ देखि ०७७/०७८ सम्मको लेखापरीक्षण रिपोर्ट अनुसार बेरुजू रकम दुई अर्ब ६६ करोड ८४ लाख रहेको प्रतिवेदनमा उल्लेख छ । बेरुजू रकम प्रतिवर्ष थपिँदै जानु महानगरको लागि पछि अहित हुने सङ्केत देखिएको छ ।

नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि बेरुजू रकम फर्छ्योट गर्नु अहिले चुनौतीको विषय भएको छ । कर्मचारीहरूले प्रलोभनमा तथा नेताहरूको दबाबमा परी जथाभाबी रकम निकास गरेपछि बेरुजू रकम बढ्दै गएको महानगर स्रोतले जनाएको छ ।

महँगो सामान खरिद गरेको तर जिन्सी खातामा उल्लेख समेत नगरी सो सामान कसले प्रयोगमा ल्याइरहेको भन्ने यकिन नभएपछि सामान खरिद बराबरको रकम बेरुजू भएको देखिन्छ ।

त्यस्तै, सामान खरिद नगरी भुक्तानी मात्र दिएको देखिएपछि सो रकम बेरुजू भएको हो । यसैगरी, कोभिडको समयमा जथाभाबी रकम भुक्तानी दिएकोले पनि बेरुजू रकम बढेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button