तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीका शिवालयहरूमा बिहानैदेखि भक्तजनको भीड

सर्लाही  । साउनको दोस्रो सोमबार पनि आज सर्लाहीका शिवालयहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

साउन महिनाको सोमवार सर्लाहीको अधिकांश शिवालयहरूमा मेला समेत लाग्ने गरेको छ । 

यस क्रममा चन्द्रनगरमा नाढी तालको डिलमा अवस्थित शिव मन्दिरमा चन्द्रनगर गाउँपालिकाले व्रतालु भक्तजनहरूको लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

भक्तजनको स्वास्थ्य अवस्थालाई मध्य नजर गर्दै गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो । 

निःशुल्क स्वास्थ्य शिविरबाट भक्तजनहरूले स्वास्थ्य लाभ लिइराख्नु भएको छ ।

त्यस्तै भगवान् शिवलाई जल चढाउने व्रतालु भक्तहरूलाई शीतलता प्रदान गर्न गाउँपालिकाले सर्बतको समेत व्यवस्थापन गरेको छ । 

टाढा टाढाबाट तातो घाम तथा गर्मीमा पनि शिवालयमा व्रतालुहरू आउने भएकोले शीतलता प्रदान होस भन्ने उद्देश्यले सर्बतको व्यवस्था गरिएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।  

चन्द्रनगरको शिवालयमा भक्तजनहरूको लागि धार्मिक, सांस्कृतिक, महत्त्व बोकेको सांस्कृतिक कार्यक्रमको व्यवस्था गरिएको चन्द्रनगरका स्थानीय उमेश साहले जानकारी दिनुभयो । 

चन्द्रनगरमा भक्तजनहरूको सुरक्षाको लागि नेपाल प्रहरी समेत परिचालन गरिएको छ ।

साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम्  दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासले भक्तजनको भीड लाग्ने गर्दछ ।

सर्लाहीमा अहिले चन्द्रनगरमा रहेको शिव मन्दिर, ईश्वरपुर नगरपालिका स्थित भक्तिपुरमा रहेको शिव मन्दिर, हरिपुरका शिवालय, लालबन्दी नगरपालिकाका शिवालय, हरिवन नगरपालिका शिवालय, कविलासी नगरपालिका शिवालयमा भक्तजनहरूको भिड लागेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button