कर्मचारी इमानदार भए राजनीतिक नेतृत्व सफल हुन्छ : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र इमान्दार र समर्पित भयो भने सरकारले अवलम्बन गरेका नीतिहरू कार्यान्वयन गरेर समाजमा राम्रो नतिजा दिन सकिने विचार व्यक्त गर्नुभएको छ ।
मन्त्रालयद्वारा आज आयोजित आर्थिक वर्ष २०७९/०८० का लागि कार्यसम्पादन सम्झौता कार्यक्रममा मन्त्री कार्कीले सूचना र सञ्चारको क्षेत्र सरकारको देखिने अनुहार भएकाले परिणाममुखी कार्यसम्पादन गरेर देखाउन जरुरी रहेको बताउनुभयो ।

सरकारका नीति तथा कार्यक्रमहरू उत्कृष्ट हुँदाहुँदै पनि कार्यान्वयन पक्ष कमजोर हुने गरेकाले विगतमा समस्या आएको बताउनुहुँदै मन्त्री कार्कीले आत्मविश्वासका साथ तयार गरिएका कार्यक्रमहरू कार्यान्वयन गर्न सबै निकायलाई आग्रह गर्नुभयो ।
सम्झौतापछि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले यस वर्षदेखि मन्त्रालय मातहतका निकायलाई बेरुजु नआउने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले मन्त्रालय मातहतका विभिन्न निकायका जग्गा र भवनको लागत सङ्कलन र तिनको अवस्थाबारे अध्ययन गरी प्रतिवेदन तयार पारेको जानकारी दिनुभयो ।
त्यस अवसरमा मन्त्रालयका सहसचिव एवं महाशाखा प्रमुख र मन्त्रालय अन्तर्गत विभागीय प्रमुख एवं महानिर्देशकहरूबीच पनि कार्यसम्पादन सम्झौता सम्पन्न भयो ।
त्यसैगरी सचिव डा. अर्याल र रेडियो नेपाल, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति, गोरखापत्र संस्थान लगायतका १८ वटा निकायका प्रमुख र महाशाखाबिच कार्यसम्पादन सम्झौता पनि सम्पन्न भएको हो ।

मन्त्रालयका सचिव डा. अर्याल र रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीबिच आर्थिक वर्ष २०७९/०८० का लागि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भयो ।

सम्झौतामा रेडियो नेपालको प्रसारण पहुँच वृद्धि, विराटनगर सञ्चार ग्रामस्थित तारणीप्रसाद कोइरालाबारे वृत्तचित्र निर्माण र प्रसारण, रेडियो प्रसारणलाई डिजिटल प्रणालीमा लैजाने र डिजिटल प्लेटफर्मबाट अतिरिक्त आम्दानी गरिने लगायतका कार्यक्रम रहेको कार्यकारी निर्देशक केसीले जानकारी दिनुभयो ।
मन्त्री कार्कीले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बजेट वक्तव्यमा उल्लेखित बुँदाहरू र वार्षिक कार्यक्रमको एकीकृत कार्यान्वयन कार्ययोजना पनि सार्वजनिक गर्नुभयो ।

मन्त्रालयका उपसचिव पङ्कज भुर्तेलले मन्त्रालय अन्तर्गतका विभिन्न निकायका जग्गा र भवनको लागत सङ्कलन र तिनको अवस्थाबारे मन्त्री कार्की समक्ष अध्ययन प्रतिवेदन पेस गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्