तपाईँ सुन्दै हुनुहुन्छः

‘छोरीले अधिकारका लागि लड्न अझै बाँकी छ’

काठमाडौँ । ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले छोरीले अधिकार प्राप्तिका लागि लड्न अझै बाँकी रहेको बताउनुभएको छ ।

अखिल (क्रान्तिकारी) ले आयोजना गरेको मनिषा आचार्यको उपन्यास विमोचन कार्यक्रममा उहाँले महिलाले कानूनी रूपमा अधिकार प्राप्त भए पनि अझै कार्यान्वयनका लागि लड्न बाँकी रहेको उल्लेख गर्नुभयो ।

File Photo

महिलाको सम्पत्तिमा अधिकार कानूनी रूपमा प्राप्त भए पनि अझै पूर्ण रूपमा कार्यान्वयनमा आउन नसकेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सम्पत्ति माग्दा दाजुभाइ रिसाउँछन् कि भन्ने भयले महिलाले सम्पत्ति माग्न सकिरहेका छैनन् ।”

आफैँले पनि अध्ययन सुरु गरेदेखि राजनीतिमा संलग्न हुँदासम्म पटक पटक विद्रोह गरेको मन्त्री भुसालले बताउनुभयो । छोरीले पढ्नु हुँदैन भन्ने समयमा विद्यालय हुँदै उच्च शिक्षा लिनु आफैँमा विद्रोह भएको उहाँले उल्लेख गर्नुभयो । छोरी मान्छे भएर राजनीतिमा संलग्न भएर जेलमा पर्दा समाजले स्वीकार नगरेको उहाँको भनाइ छ ।

सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले साहित्यमा सधैँ महिला कति आए र कति टिकेभन्दा विषयवस्तुमा गहन छलफल बाँकी रहेको औँल्याउनुभयो ।

प्राध्यापक सन्तोष परियारले आचार्यले सामाजिक यथार्थवादी तर विद्रोही आख्यान लेख्नुभएको उल्लेख गर्नुभयो ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले युवाले कुनै पनि विषयवस्तुको थोरै बुझेर हलुका टिप्पणी गर्न छाडेर गहन अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button