आजदेखि भरतपुर अस्पतालमा ओपिडी टिकट निःशुल्क

चितवन । आजदेखि भरतपुर अस्पतालमा ओपिडी टिकट निःशुल्क गरिएको छ । अस्पताल विकास समितिको निर्णय अनुसार साउन ८(आज) गते देखि लागु हुने गरी अस्पतालमा आउने सबै सेवाग्राहीको लागि ओपिडी टिकट निःशुल्क गरिएको हो ।
अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै अस्पतालमा आउने गरिब, बेवारिसे तथा सीमान्तकृत सेवाग्राहीहरूलाई स्वास्थ्य सेवा पहुँच पुर्याउन टिकट निःशुल्क गरिएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालमा आउने अति गरिब तथा सीमान्तकृत सेवाग्राहीहरूलाई स्वास्थ्य सेवामा पहुँच हुनेछ भन्ने कुरालाई मनन गरी यो निर्णय गरिएको छ । ’
अति गरिब, बेवारिसे विपन्न तथा सीमान्तकृत समुदायलाई अस्पतालको आकस्मिक कक्षमा समेत टिकट र उपचार निःशुल्क भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि अस्पतालमा सेवा लिन आउने महिला, ज्येष्ठ नागरिक र स्वास्थ्य बीमा भएका सेवाग्राहीको शुल्क नलिने गरेकोमा आजबाट अहिले सबैलाई निःशुल्क गरिएको हो ।
केन्द्रिय अस्पतालको रुपमा परिचित यो अस्पतालमा चितवन लगायत दुई दर्जनभन्दा बढी जिल्लाबाट उपचारका लागि यहाँ आउने गर्दछन् ।








प्रतिक्रिया राख्नुहोस्