तपाईँ सुन्दै हुनुहुन्छः

मङ्गलसेनका वडा वडामा घुम्ती सेवा सञ्चालन, स्थानीय खुसी

अछाम । अछामको मङ्गलसेन नगरपालिकाले नगरका सबै वडामा घुम्ती सेवाको सुरुवात गरेको छ । नगरपालिकाका १४ वटै वडामा नागरिकलाई विभिन्न सेवा दिने उद्देश्यले घुम्ती सेवा सुरु गरिएको हो ।

शुक्रवारदेखि नगरको वडा नम्बर १३ बस्तीबाट सेवा शुरु गरिएको नगरपालिकाका सूचना अधिकारी विष्णुप्रसाद  जैसीले बताउनु भयो । सेवामा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको विवरण नवीकरण, एकीकृत सम्पत्ति कर (मालपोत) बुझाउने तथा व्यापार व्यवसाय दर्ता गर्ने कार्यसमेत भइरहेको छ ।

वडा नम्बर १३ को बस्तीमा ३ टोलमा सेवा सञ्चालन हुने छन् ।

नगरबाट टाढा रहेका बस्ती, कालागाउँ, बान्नातोली लगायतका क्षेत्रका नागरिकलाई घरदैलोमै सेवा दिने उद्देश्यले सबै वडामा घुम्ती सेवा सञ्चालन गरिएको नगरपालिका प्रमुख पदम बहादुर बोहराको भनाइ छ ।

बस्तीबाट पचास, एक सय रुपैयाँ एकीकृत सम्पत्ति कर बुझाउन मङ्गलसेन आउँदा १ हजार बढी खर्च गर्नुपर्ने नागरिकलाई टोलमै सेवा पाउँदा ठुलो राहत पुगेको शिविरमा सेवा दिइरहेका एमआईएस अपरेटर होम साउँदको भनाइ छ ।

साथै नगरपालिकाले करको दर नभई करको दायरा बढाउने लक्ष्य अनुरुप गाउँठाउँमै व्यापार व्यवसाय सञ्चालन गरिरहेकाहरूको व्यवसाय दर्ता कार्य समेत भइरहेको छ । शनिवार बस्तीको बाणामा दुई जनाले व्यवसाय दर्ता गराउनु भएको उहाँको भनाइ छ ।

साउन महिनाभरि नगरका १४ वटै वडामा भ्याउने गरी घुम्ती सेवा सञ्चालन हुने सूचना अधिकारी जैसीको भनाइ छ ।

सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको विवरण नवीकरणका लागि नाम सच्याउने, अधुरो विवरण पूरा गर्ने, उमेर पुगेका बालबालिका तथा मृत्यु भएकाहरूको नाम हटाउने लगायतका कार्यले राज्यको स्रोतको सदुपयोगमा समेत टेवा पुग्ने मङ्गलसेन नगरपालिका सुशासन समितिका संयोजक ज्ञानेन्द्र बोहराको भनाइ छ ।

विगतमा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको विवरण नवीकरण गर्ने मात्रै प्रयोजनले वडा वडामा सेवा दिने भए पनि यो बर्ष सुशासन समितिको साउन १ गतेको बैठकले थप सेवा समेत प्रदान गर्ने निर्णय गरिएको संयोजक बोहराले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button