स्वास्थ्य विमालाई थप व्यवस्थित बनाइने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले स्वास्थ्य विमालाई थप व्यवस्थित बनाइने बताउनुभएको छ ।
संसद्को शिक्षा तथा स्वास्थ्य समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री खापुङले नागरिकले स्वास्थ्य बीमा गरिसकेपछि सहज र सरल रुपमा भुक्तानी पाउनुपर्ने भन्नुहुँदै बीमाको क्षेत्रमा त्रुटि भए सच्याउन सरकार तयार रहेको जानकारी गराउनुभयो ।
हाल नेपालमा कोरोना खोपको अभाव नरहेको जानकारी दिनुहुँदै उहाँले खोप कार्यक्रम सञ्चालन गर्न स्थानीय सरकारले थप सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा मन्त्रालयका सचिव डा.रोशन पोखरेलले पछिल्लो समय कोरोना भाइरस संक्रमण दर बढेको भए पनि अस्पताल भर्ना हुने दर भने नबढेको जानकारी गराउनुभयो ।
साउन १ गतेदेखि कोभिड कालमा करारमा लिएका कर्मचारीको करार नवीकरण नगरेको जानकारी गराउँदै कोरोना भाइरस संक्रमण दर उकालो लाग्दै गयो भने व्यवस्थापन कसरी गर्ने भनेर छलफल भइरहेको सचिव पोखरेलले बताउनुभयो ।

त्यस्तै, शहीद गङ्गालाल हृदय रोग केन्द्रका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले मुटुको शल्यक्रिया गर्न आवश्यक पर्ने अक्सिजिनेरेटर पर्याप्त नभएको तर ज्यान बचाउनुपर्ने गम्भीर मुटुका बिरामीको शल्यक्रिया नरोकिएको स्पष्ट पार्नुभयो ।
उहाँले अस्पतालमा बच्चा र वृद्ध वृद्धाको मुटुको शल्यक्रिया गर्ने अक्सिजिनेरेटर पर्याप्त रहेको तर प्रौढ बिरामीको मुटुको शल्यक्रिया गर्ने अक्सिजिनेरेटर मात्रै अभाव रहेको बताउनुभयो ।
अस्पतालले प्रौढ बिरामीको दैनिक ८ जनाको शल्यक्रिया गर्दै आएकामा हाल दैनिक आकस्मिक तीन जनासम्मको शल्यक्रिया गर्ने गरेको अस्पतालले जनाएको छ ।
युक्रेन युद्ध, कच्चा पदार्थको अभावलगायतका कारण मुटुको शल्यक्रिया गर्न आवश्यक पर्ने अक्सिजिनेरेटर नेपालमा मात्रै नभई भारतमा समेत अभाव भएकाले हाल कुनै पनि निजी तथा सरकारी अस्पतालमा नपाइएको सत्य भएको निर्देशक अधिकारीले स्पष्ट पार्नुहुँदै उहाँले गङ्गालाल अस्पतालमा पनि स्टक धेरै नरहेको बताउनुभयो ।
बैठकमा सांसदहरु गिरिराजमणि पोखरेल, योगेश भट्टराई, सरिता न्यौपाने, अञ्जना विशंखे, सुरेन्द्र यादव र नबिना लामाले स्वास्थ्यजन्य सामानको खरिद प«क्रियालाई सहज बनाउन खरिद ऐनलाई संशोधन गरिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँहरूले कोरोना खोपको पहुँच सबै नागरिकमा नपुगेको भन्नुहुँदै सबै बालबालिकालाई खोप लगाउने व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्