तपाईँ सुन्दै हुनुहुन्छः

प्राकृतिक विपद्बाट सल्यानमा एक वर्षमा ८ जनाको मृत्यु, १ करोडभन्दा बढी क्षति

सल्यान । सल्यानमा गत आर्थिक वर्ष २०७८/०७९  मा प्राकृतिक विपद्बाट आठ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार आगलागी, बाढी पहिरो र चट्याङ्गबाट आठ जनाको मृत्यु भएको हो । विपद्बाट एक करोड १६ लाख ५९ हजारको क्षति भएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि असार महिनासम्म आगलागी, बाढी पहिरो, चट्याङ, हावाहुरी र अविरल वर्षा लगायतका विपद्का घटनाबाट १ करोड १६ लाख ५९ हजार बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । 

कार्यालयका अनुसार आगलागीबाट १, बाढी पहिरोबाट ६ र चट्याङबाट १ जनाको मृत्यु भएको छ । 

आगलागीबाट १३  घरमा क्षति पुगेको छ । आगलागीबाट २४ वटा बाख्रा ३ सय कुखुरामा क्षति पुगेको छ ।  

यस्तै २१ महिला, १९ पुरुष र २८ जना बालबालिका प्रभावित भएका छन् । आगलागीबाट ५७ लाख बराबरको क्षति भएको छ । 

यस्तै, बाढी पहिरोबाट ६  जनाको मृत्यु, १ घाइते भएको प्रमुख जिल्ला अधिकारी विपिन आर्चायले  बताउनुभयो । उहाँका अनुसार २ घरका ३ महिला, ४ पुरुष र ६ बालबालिका प्रभावित भएका छन् भने १२ लाख बराबरको क्षति भएको छ । 

यस्तै, चट्याङबाट १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्  । जसबाट १ घरका ५ महिला, ५ पुरुष र ११ बालबालिका प्रभावित भएका छन् । ७ वटा पशुपक्षी मरेका छन् । जसबाट २० लाख बराबरको क्षति भएको उहाँले बताउनुभयो । 

त्यसैगरी,  हावाहुरी बाट ३ वटा घर, ९ वटा विद्यालयमा गरी १७ लाख ८३ हजार बराबरको क्षति भएको छ । 

हावाहुरीबाट १७ लाख ८३ हजार बराबरको क्षति भएको छ भने अविरल वर्षाबाट करिब ९७ लाख ६० हजार बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button