तपाईँ सुन्दै हुनुहुन्छः

चित्रकार डा भौकाजीको निधन

काठमाडौँ । चित्रकार डा रामकुमार भौकाजीको आज ७२ वर्षका उमेरमा निधन भएको छ । 

प्रोस्टेटको अर्बुद रोगबाट आज बिहान आफ्नै निवास नयाँ बानेश्वरमा उहाँ दिवङ्गत हुनुभएको उहाँका भाइ साहित्यकार विमल भौकाजीले जानकारी दिनुभयो । 

रुसबाट चित्रकला विज्ञानमा विद्यावारिधि गर्नुभएका डा भौकाजीका ‘जुद्धकला पाठशाला’, ‘स्रष्टा कुलमानसिंह भण्डारी’ र ‘नेपाली कलाकारका समस्या’ शीर्षक कृति (नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नाफाबाट प्रकाशित) तथा कला, संस्कृति र इतिहाससम्बन्धी थुप्रै लेख पत्रपत्रिकामा प्रकाशित छन् । विसं २०२९ फागुन २४–२५ मा गृह जिल्ला रामेछाप, साँघुटार बजारमा उहाँको पहिलो एकल चित्रकला प्रदर्शनी भएको थियो । 

ललितकला महाविद्यालयका पूर्व छात्र उहाँले ‘मेरो नेपाल’ शीर्षकमा विभिन्न ठाउँको दृश्य चित्र रचना गरी थुप्रै प्रदर्शनी पनि गर्नुभएको थियो ।  अविवाहित डा भौकाजीले गोरखा भूकम्पपछि वसन्तपुर दरबार, सुन्दरीजल बन्दीगृह, टोखा चण्डेश्वरी, पशुपति विश्वरूप आदिका स्थलगत चित्र पनि तयार गरी प्रकाशनमा ल्याउनुभएको थियो । 

पशुपति आर्यघाटमा उहाँको आजै दाहसंस्कार गरिएको छ । 

उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्न आर्यघाटमा नाफाका सदस्य सचिव विपिन घिमिरे, प्राज्ञ रामकृष्ण भण्डारी, पूर्व सांसद देवशङ्कर पौडेल, राजनीतिज्ञ लोककृष्ण भट्टराई, पूर्वप्राज्ञ नारदमणि हार्तम्छाली र रवीन कोइराला, सोफाज नेपालका महासचिव देवेन्द्र थुम्केलीलगायत शुभेच्छुकको उपस्थिति थियो ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button