टिकाराम र निलिफालाई फोनिज युके पत्रकारिता सम्मान

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) युके शाखाले स्थापना गरेको फोनिज युके पत्रकारिता सम्मान र पुरस्कार दुई जना फोनिजकर्मी पत्रकारले पाउनुभएको छ ।
फोनिज युके पत्रकारिता सम्मान २०२२ बाट पत्रकार टिकाराम प्रधान र फोनिज युके पत्रकारिता पुरस्कार २०२२ बाट पत्रकार निलिफा सुब्बा सम्मानित र पुरस्कृत हुनुभएको छ ।
काठमाडौँमा आयोजित पुरस्कार वितरण समारोहमा आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थाप मगरले दुवै जनालाई सम्मान र पुरस्कार प्रदान गर्नुभयो ।
सम्मान र पुरस्कारको राशि जनही २५ हजार रहेको छ । फोनिज युकेले सञ्चार क्षेत्रबाट आदिवासी जनजाति समुदायको विकासका लागि कलम चलाउँदै आएका पत्रकारहरूलाई हरेक बर्ष सम्मानित र पुरस्कृत गर्दै आएको छ ।
पुरस्कार वितरण समारोहमा बोल्दै आदिवासी जनजाति आयोगका अध्यक्ष थापा मगरले आदिवासी जनजातिहरूको हकहित र अधिकार सुनिश्चितताका लागि फोनिजकर्मीहरुको ठूलो भूमिका रहेको बताउनुभयो ।
उहाँले विभिन्न समयमा भएको आदिवासी जनजाति आन्दोलनको उपलब्धि रक्षाका लागि अझै पनि सङ्घर्ष गर्न आवश्यक रहेको बताउनुभयो ।
नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले यस्ता पुरस्कारहरूले आदिवासी जनजातिको मुद्दामा कलम चलाउने पत्रकारहरूलाई प्रोत्साहन मिल्ने र आदिवासी जनजाति आन्दोलनलाई पनि सहयोग पुग्ने बताउनुभयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) संघीय समितिको आयोजनामा पुरस्कार वितरण समारोह सम्पन्न भएको हो ।








प्रतिक्रिया राख्नुहोस्