तपाईँ सुन्दै हुनुहुन्छः

प्रादेशिक अस्पतालको लापरबाहीबारे छानविन शुरु, उपकुलपतिलाई पत्र काटियो

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरमा चिकित्सकको गम्भीर लापरबाही घटनाको विषयमा जानकारी लिनका लागि प्रदेश सभाको महिला बालबालिका तथा सामाजिक न्याय समितिले प्रतिष्ठानका उपकुलपति आज पत्र काटेर बोलाएको छ ।  

प्रदेश सभाको बैठकमा प्रदेश सभाका सदस्यहरुले घटनाको विषयमा आवाज उठाएपछि सभामुख सरोज कुमार यादवले रुलिङ गर्दै महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति जैनुल राईनको नेतृत्वमा रहेको समितिलाई छानविन गरेर १५ दिनभित्रमा प्रतिवेदन पेश गर्नका लागि आदेश दिएपछि समितिले छानबिनका लागि उपकुलपतिलाई पत्र काटेको सभापति राईनले जानकारी दिनु भयो । 

साथै प्रादेशिक अस्पतालको घटनाको विषयमा प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहलाई समितिमा उपस्थित गराएको विषयमा सामाजिक विकासमन्त्री नबल किशोर साहलाई पत्रको बोधार्थ दिने काम भएको समितिका सभापति राईनले जानकारी दिनु भयो । 

प्रादेशिक अस्पतालका चिकित्सकले बिरामीको चेकजाँच बिना पित्तथैलीको शल्यक्रिया गर्दा बिरामीको ज्यान नै जोखिममा परेको घटना सार्वजनिक भएपछि समितिले छानविन थालेको छ । 

बिरामीले चार महिना अघि गराएको चेकजाँचको आधारमा चिकित्सकले पित्तथैलीमा रहेको पथ्थरको शल्यक्रिया गर्दा महोत्तरीको जलेश्वर नगरपालिका वडा नं  २ घर भई हाल जनकपुरधाम उप–महानगरपालिका कोठा भाडा लिएर बस्दै आएकी विभा चौधरीको अवस्था गम्भीर बनेको छ । उहाँको गर्भमा ४ महिनाको शिशु पनि रहेका थिए ।

असार १३ गते प्रादेशिक अस्पतालमा बिनाचेक जाँच नै शल्यक्रिया गरेपछि महिलाको अवस्था गम्भीर बनेको थियो । त्यसपछि असार १६ गते उहाँलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो । २८ फागुन २०७८ मा नै बिरामीले अल्ट्रासाउण्डमा गराएको रिपोर्टको आधारमा नै डा. अमरेश कर्णले भर्ना गरी डा. राजेश साह र डा. आश्विनी यादवले शल्यक्रिया गरेका थिए ।

उता पीडित परिवारले उपचारमा लापरवाही गर्ने चिकित्सकहरूलाई कडा कारबाहीको साथै क्षतिपूर्तिको माग गर्दै आएको छ । यस विषयमा प्रदेश सभाको बैठकमा गम्भीर रुपमा प्रदेश सभाका सदस्यहरुले आवाज उठाएका थिए ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button