तपाईँ सुन्दै हुनुहुन्छः

मूल्यवृद्धि नियन्त्रणका लागि ध्यानाकर्षण

काठमाडौँ । उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत उपभोक्ता जागरण अभियान नेपालले मूल्यवृद्धि नियन्त्रणका विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

सरकारका मुख्यसचिव, बजार अनुगमनको मुख्य जिम्मेवारी पाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, त्यसअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई भेटेर जागरण अभियानका पदाधिकारीले मूल्यवृद्धि नियन्त्रणका लागि चाल्नुपर्ने कदमका विषयमा ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

जागरण अभियानले बुझाएको ज्ञापनपत्रमा बजारमा एकाधिकारपूर्ण, अनुचित र कानूनद्वारा निषेधित व्यापारिक कार्यहरू हुनेगरेको उल्लेख छ । हरेक क्षेत्रमा सेटिङमा काम भइरहेको भन्दै ज्ञापनपत्रमा बजार अनुगमन सार्थक एवं प्रभावकारी हुन नसकेको आरोप लगाइएको छ । 

जागरण अभियानका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा बजार हस्तक्षेपको नीति अख्तियार गर्दै खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत दैनिक अत्यावश्यक वस्तुको विक्री वितरण गरेर आपूर्ति व्यवस्थालाई सहज तुल्याउँदै बजार मूल्यलाई नियन्त्रण गर्नुपर्ने उल्लेख छ । 

भन्सार गेट मूल्य र उद्योग गेट मूल्यका आधारमा वस्तुको मूल्य विश्लेषण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अधीनस्थ विभाग, कार्यालय र निरीक्षण अधिकृतहरूलाई निर्देशन दिनुपर्ने सुझाव पनि दिइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button