तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीमा मनसुन पूर्व तयारीबारे छलफल  

सिन्धुपाल्चोक  । प्रत्येक बर्ष प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा मनसुन पूर्व तयारी तथा विपद् प्रतिकार्यका लागि अन्तरपालिका छलफललाई तीव्र पारिएको छ ।

बाढी तथा पहिरोको अवस्था, जल तथा मौसम विज्ञान विभागद्वारा मेलम्ची र इन्द्रावती नदी आसपासका क्षेत्रहरूमा सम्भावित जोखिम तथा क्षति न्यूनीकरणका उपायहरू र मनसुन सम्बन्धी मुख्य सवालहरूका विषयमा विज्ञसँगको छलफल कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जिल्लाका स्थानीय तहहरुले आपत्कालीन पूर्व तयारी योजनाको चार्ट तयार गर्नका साथै पूर्व सूचना प्रणाली (Early warning system) र सञ्चार ट्री (संयन्त्र) कार्यान्वयन गरी प्रकोप पूर्व तयारी र जोखिम न्यूनीकरण समयमै प्रारम्भिक सूचनाको प्रचार प्रसारको काम गर्नका लागि कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।

मनसुन पूर्वानुमानको सूचना स्थानीय तहहरूबाट व्यवस्थित गरी क्षति न्युनिकरणका लागि पूर्व निर्धारित प्रक्रिया प्रयोग गरेर प्रारम्भिक कार्य गर्ने उद्देश्यले क्षेत्रीय एकीकृत बहुप्रकोप पूर्व सूचना प्रणालीको प्राविधिक सहयोगमा दक्षिण एसियाली क्षेत्रमा अन्तिम माइल सञ्चार सुदृढीकरण परियोजना अन्तर्गत कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा इन्द्रावती, हेलम्बु, पाँचपोखरी थाङपाल गाउँपालिका र मेलम्ची नगरपालिकाका जनप्रतिनिधिसहित, जल तथा मौसम विज्ञान विभाग, विपद् जोखिम व्यवस्थापन विज्ञ, जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका  विपद् व्यवस्थापन शाखाका प्रतिनिधि तथा सिन्धुपाल्चोकका तिन वटै सुरक्षा निकायका प्रमुखहरूसहितको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button