सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूको समन्वय बैठक भोलिबाट जनकपुरमा

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा शान्तिसुरक्षा तथा विपद् व्यवस्थापन विषयमा सातवटै प्रदेशका आन्तरिक तथा गृह मन्त्रालयका बीचमा भोलि समन्वय बैठक हुने भएको छ ।
मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्रालयको आयोजनामा शान्तिसुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी अनुभव आदानप्रदान, राम्रो कामकाजको साटासाट तथा छलफल हुन लागेको सचिव रामकुमार महतोले जानकारी दिनु भयो ।
छलफलमा सातवटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, मन्त्रालयका सचिवहरू र प्रदेशका मुख्यन्यायाधिवक्ताको सहभागी हुने कार्यक्रम रहेको गृह तथा सञ्चार मन्त्रालयका सचिव महतोले जानकारी दिनु भयो ।
भोलि जनकपुरधाममा हुने छलफलपछि एउटा साझा प्रतिबद्धता पत्र जारी गर्ने कार्यक्रम रहेको छ । यस अघि अन्य प्रदेशमा बैठक भएपनि मधेश प्रदेशमा पहिलो पटक सातै प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका मन्त्री, सचिव तथा मुख्यन्यायाधिवक्ताहरुको बैठक हुन लागेको छ ।
छलफलमा सहभागी हुन आज अपराह्नबाट ६ प्रदेशका आन्तरिक मामिला मन्त्रीहरू, सचिवहरू र मुख्यन्यायाधिवक्ताहरु जनकपुरधाम आउन लाग्नु भएको छ । भोलि बिहान ६ वटै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूको अनौपचारिक कार्यक्रम अन्तर्गत जानकी मन्दिर सहितको मठ मन्दिरमा गएर पूजा अर्चना गर्नु हुनेछ ।
औपचारिक कार्यक्रम भोलि बिहान १० बजेबाट मात्र शुरु हुने मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्रालयले जानकारी दिएको छ । यस्ता प्रकारको समन्वय बैठकबाट जनकपुरधामको पर्यटन प्रवद्र्धनमा पनि मद्दत पुग्ने भएको छ ।








प्रतिक्रिया राख्नुहोस्