तपाईँ सुन्दै हुनुहुन्छः

वडा अध्यक्षले रोपे आफूले पाएको मतको दोब्बर बिरुवा

अछाम । अछामका एक वडाध्यक्षले पर्यावरणीय संरक्षणका लागि एक रचनात्मक कार्य गर्नुभएको छ ।

जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष पदम बहाखुर बिसीले आफूले पाएको मतको दोब्बर सङ्ख्यामा बिरुवा रोप्नुभएको हो । बर्षात् सुरु भएको र राष्ट्रिय वृक्षारोपण दिवसको सन्दर्भ पारेर उहाँले वडाका विभिन्न सार्वजनिक स्थानमा २ हजार १३० ओटा बिरुवा रोप्नुभएको हो । 

मतदाताको सम्मानसँगै ‘हरियाली तुर्माखाँद’अभियान अन्तर्गत वृक्षारोपण गरिएको वडाध्यक्ष बिसीले जानकारी दिनुभयो ।  ‍जलवायु परिवर्तनविरुद्ध वातावरणीय अनुकूलनको अभियानलाई साथ दिन आगामी पाँच वर्षभित्र वडाको जनसङ्ख्या बराबर बिरुवा रोप्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

वडाले विद्यालय, स्वास्थ्यचौकी, हुलाक कार्यालयजस्ता सार्वजनिक क्षेत्रमा वृक्षारोपण गरेको छ । रोपिएका बिरुवाको संरक्षण गर्ने संस्थालाई प्रोत्साहन गर्न पुरस्कारको व्यवस्था गरिएको वडाध्यक्ष बिसीले बताउनुभयो । 

वडाध्यक्ष बिसीले वैशाख ३० मा सम्पन्न निर्वाचनमा १०२८ मत पाउनुभएको थियो । उहाँले पदभार ग्रहण गरेपछि पहिलो बैठकबाट मतदाताको सम्मान स्वरूप वृक्षारोपण दिवसमा १०२८ ओटा बिरुवा रोप्ने निर्णय गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button