तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय हर्षित

सोलुखुम्बु । विभिन्न रोगको उपचार तथा औषधी गाउँघरमै निःशुल्क रुपमा प्राप्त भएपछि गार्माका नागरिकहरू खुसी भएका छन् ।

स्थानीय लकु शेर्पाले भन्नुभयो ‘अस्पतालसम्म टाढा धाएर जानुपर्ने अवस्थामा गाउँमै चेकजाँच गरी निःशुल्क औषधी समेत पाउँदा खुसी लागेको छ ।’ उहाँजस्ता धेरै स्थानीयलाई शिविरले राहत मिलेको हो ।

सोलुदूधकुण्ड नगरपालिका–७ गार्मामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा झण्डै दुई सय जना स्थानीयले सेवा लिएका छन् । मद्दत नेपाल नामक गैरसरकारी संस्थाले गार्मा स्वास्थ्य चौकीमा आयोजना गरेको शिविरमा १८७ जना गार्मावासीले स्वास्थ्य सेवा लिएको वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

मद्दत नेपाल मार्फत रोक्पा अर्गनाइजेशनबाट आएका डा. टसी शेर्पा सहितका स्वास्थ्यकर्मीले सुगर, प्रेसर, ग्यास्ट्रिक लगायतका रोगका लागि निःशुल्क औषधी समेत वितरण गरेको अध्यक्ष शेर्पाले बताउनुभयो ।

नागरिकको स्वास्थ्य समस्यालाई गाउँमै हल गर्ने उद्देश्यका साथ वडा कार्यालयको समन्वयमा निःशुल्क शिविरको आयोजना गरेको बताइएको छ ।

निःशुल्क स्वास्थ्य शिविर वडा कार्यालयले आगामी दिनमा प्रत्येक वर्ष आयोजना गर्ने अध्यक्ष शेर्पाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button