सेनाको सङ्ख्या होइन, क्षमता बढाइन्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले नेपाली सेनाको सङ्ख्या बढाउनेभन्दा पनि क्षमता विकासमा सरकारको ध्यान रहेको बताउनुभएको छ । रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट रक्षा मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले भन्नुभयो, “सेनाको सङ्ख्या बढाउनेभन्दा पनि सेनाको क्षमता बढाउने कुरामा सरकारको ध्यान छ, उनीहरूलाई प्रविधियुक्त बनाइ स्रोत र मेसिनरी उपलब्ध गराउनमा सरकारको प्रयत्न छ ।”
उहाँले सेनालाई संवैधानिक र कानुनले दिएको जिम्मेवारी पूरा गर्न संरचनालाई सोहीअनुसार विकास गर्न जरुरी रहेको पनि औँल्याउनुभयो । उहाँले सेनालाई थप व्यावसायिक बनाउने कुरामा सांसदबाट आएको सुझावको सराहना गर्नुभयो । उहाँका अनुसार मुलुकको रक्षाका साथै भौगोलिक कठिनता कारणले सामान्य हिसाबले निर्माण हुन नसक्ने विशेष प्रकारका निर्माणका काममा सेना परिचालित छ । विकास आयोजनामा प्रयोग हुने विस्फोटक पदार्थको सुरक्षा र व्यवस्थापन नेपाली सेनाको प्रत्यक्ष निगरानीमा हुँदै आएको छ । विशेष प्रकृतिका विकासमा कार्यमा अन्य मुलुकमा सेना परिचालन हुँदै आएको छ ।
हाल नेपाली सेनाले कठिन भूभागमा ३० सडक निर्माण गरेको छ । काठमाडौँ तराई द्रुतमार्गलाई तोकिएको समयमा सम्पन्न गर्न ११ खण्डमा विभाजन गरी काम भइरहेको गृहमन्त्री खाणले सदनलाई जानकारी गराउनुभयो । सेनाले कोभिड महामारीका समयमा सात स्थानमा होल्डिङ सेन्टर निर्माण गरेको तथा दुर्ई हजार ३३ शव व्यवस्थापन गरेको तथा कोभिडका बेला आठ हजार ६२५ सैनिक सङ्क्रमित भएकामा १२ जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
विपद् व्यवस्थापनतर्फ चार हजार बढीको खोज उद्धार, २६९ स्थानमा आगजनी नियन्त्रण, तीन हजार बढी सर्पदंशका बिरामीको उपचार गरेको तथा १३८ गर्भवती तथा सुत्केरीको उद्धार गरेको उहाँले जानकारी गराउनुभयो । नेपाली सङ्गठन २०७८ मा पुनः संरचना भएको र हाल कूल दरबन्दी ९६ हजार ४७७ जना रहेका छन् । सेनाले सफा हिमाल अभियानअन्तर्गत ३३ हजार ८७७ केजी फोहर सङ्कलन गरेको मन्त्रीले जानकारी दिनुभयो । अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम अघि नबढाउने निर्णय सरकारले गरिसकेको जानकारी दिँदै उहाँले नेपालको भूमि मित्रराष्ट्र विरुद्ध प्रयोग हुन नदिने कुरामा सरकार प्रतिबद्ध र दृढ रहेको बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्