सामाजिक घटनासँगै कानुन र सामाजिक उत्तरदायित्व बहन हुने तरिकाले समाचार बन्नुपर्छ : डा बिन्दा पाण्डे

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.बिन्दा पाण्डेले सामाजिक घटनाको मात्र समाचार बनाउन नहुने भन्नुहुँदै घटनासँगै कानुन र सामाजिक उत्तरदायित्व बहन हुने तरिकाले समाचार बनाउनुपर्ने बताउनुभएको छ ।
रेडियो श्वेत शार्दूलले जननेता मदन भण्डारीको ७१औँ जन्म जयन्तीको अवसरमा मदन भण्डारी मेमोरियल कलेज अनामनगरमा आज आयोजित ‘आमसञ्चार, सामाजिक उत्तरदायित्व र जबजको दृष्टिकोण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले जबजले अभिव्यक्ति स्वतन्त्रता र आमसञ्चारलाई बोकेकोले यसलाई आम नागरिकसम्म पुर्याउन हामी सबै लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख प्रस्तोता एवम् त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा.कुन्दन अर्यालले आमसञ्चार र समाजबिचको अन्तरसम्बन्धको विश्लेषणका निम्तिमा मार्क्सका विचार, मिडियालाई विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा सांस्कृतिक आयामको विस्तारलाई मार्क्सवादी अवधारणाले समेटेको बताउनुभयो ।
उहाँले आमसञ्चार र समाजबिचको अन्तरसम्बन्धको विश्लेषणका निम्तिमा मार्क्सवादी अवधारणाले समेटेको भन्नुहुँदै वर्ग, आइडोलोजि र आमसञ्चार माध्यमबिचको अन्तरसम्बन्धलाई केलाउन मार्क्सवादी दृष्टिकोणबाट आमसञ्चारको सैद्धान्तिक अध्ययन गर्न जरुरी रहेको बताउनुभयो ।
मदन भण्डारी मेमोरियल कलेजका पूर्व शिक्षक घमराज लुइँटेले जबज र आमसञ्चार परिपूरक रहेको भन्नुहुँदै सामाजिक न्याय, सामाजिक उत्तरदायित्वप्रति पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रमका संयोजक एवम् मदन भण्डारी फाउण्डेसनका केन्द्रीय सदस्य अमरध्वज लामाले रेडियो श्वेत शार्दूलले हरेक महिना आमसञ्चारका विभिन्न विषयमा प्राज्ञिक बहस आयोजना गर्ने बताउनुभयो ।
कार्यक्रममा मदन भण्डारी फाउन्डेसनका सचिवालय सदस्य डेगेन्द्र पाण्डे, घनश्याम कोइरालालगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्