तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पताल: विपन्नको उपचारमा १९ लाख खर्च

पर्सा। चालु आवको ११ महिनामा वीरगञ्जको नारायणी अस्पतालले एक हजार ५०० गरिब, असहाय तथा विपन्न नागरिकको निःशुल्क उपचार गरेको छ ।

अस्पतालको सामाजिक सेवा एकाइमार्फत लक्षित १२ समूहका नागरिकको निःशुल्क उपचार गरिएको हो । गरिब, असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा र पीडित बालबालिका, लोपोन्मुख आदिवासी जनजाति, कुपोषित बालबालिका तथा सहिद परिवारलाई सबैखाले उपचार सुविधा उपलब्ध गराउँदै आएको अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आवको पहिलो चौमासिकमा ३१६ महिला, २२४ पुरुष गरी ५८० जनालाई सेवा प्रदान गरिएको छ । दोस्रो चौमासिकमा ३०३ महिला र २०४ पुरुष गरी ५०७ लाई सेवा दिइएको छ ।

चालु आवको असार १० गतेसम्म ५०० भन्दाबढी बिरामीलाई उपचार प्रदान गरिसकेको डा सिंहले जानकारी दिनुभयो । उहाँले गरिब तथा विपन्न नागरिकको उपचारमा रु १९ लाख भन्दाबढी रकम हालसम्ममा खर्च भइसकेको बताउनुभयो । निःशुल्क उपचार योजनाले धेरै नागरिकलाई अकालमा मृत्युबाट जोगाएको डा सिंहको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button